Widgets


नेपालमा मुस्लिम अगुवाको हत्यामा अन्तराष्ट्रिय गिरोहको संलग्नताको आशंका गरिन्छ । पूर्वमन्त्री मिर्जादिल सादवेग, संचार उद्यमी जमिम साह र मुस्लिम नेता फैजान अहमदको हत्या सम्ममा अन्तराष्ट्रिय गिरोहको संलग्नता रहेको पाइएको छ ।
राष्ट्रियताको पक्षमा खरो कुरा गर्ने पूर्व स्वतन्त्र सभाषद सदरूल मियाँको हत्यामा पनि त्यस्तै अन्तराष्टिय गिरोहको संलग्नता रहेको अनुमान गर्नेहरूको कमी छैन् । तर, मियाँको हत्या राजनीतिक प्रतिसोधका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।
सुरक्षा स्रोतले मियाँको हत्यामा अन्तराष्ट्रिय गिरोहको हत्या नभएको प्रारम्भिक अनुमान गरेको छ । मियाँलाई चिनेका अन्य मुस्लिम अगुवाले पनि सदरूललाई बाह्य सुरक्षा थ्रेट नभएको बताउँछन् । ‘खासकुरो त छानविनपछि आउँला, मियाँलाई चिनेका अर्का मुस्लिम कार्यकर्ता भन्छन्, 'फैजान वा जमिमको जस्तो षडयन्त्र होइन ।’
हत्या राजनीतिक षडयन्त्र ?
०५४ सालमा नेपाली काग्रेसको तर्फबाट कल्याणपुर गाबिस २ मा वडा अध्यक्ष निर्वाचित भएर राजनीति सुरू गरेका मियाँ स्थानिय स्तरमा लोकप्रिय थिए । संविधानसभामा मियाँसँग संगत गरेका सभासद विश्वेन्द्र पासवानले हत्यामा राजनीतिक षडयन्त्र रहेको बताए । सप्तरीमै रहेका पासवानले नेपालीहेडलाइन्सलाई भने, 'हत्या राजनीतिक पूर्वाग्रहले भएको हो ।’
संविधानसभा निर्वाचनमा राष्ट्रिय स्तरका ठूला दललाई पछारेर मियाँ स्वतन्त्र सभासद बनेका थिए । एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले तथा तीनवटा मधेशी दललाई पछारेर मियाँ निर्वाचित भएका थिए । मियाँले १० हजार ६ सय ३ मत ल्याएर चुनाव जितेका थिए ।
उनका निकटतम प्रतिद्वन्दी एमालेका दानलाल चौधरी थिए, उनले ६ हजार ४ सय ७९ मत प्राप्त गरेका थिए । एकीकृत माओवादीकी सरस्वती कुमारी चौधरीले पनि ६ हजार हाराहारी मत ल्याएकी थिइन् । काग्रेसका उम्मेदवार मुक्तिनाथ चौधरी र फोरमका छेदिलाल यालवको जमानत जफत भएको थियो ।
संविधानसभाको निर्वाचनको तयारी सुरू भएको समयमा मियाँको लोकप्रियताबाट झस्किएका शक्तिले उनको हत्या गरेको आशंका गरिएको छ । अघिल्लो निर्वाचनको नजिता हेर्दा उनका प्रतिद्वन्दी एमाले र माओवादी उम्मेदवार छन् । मियाँको हत्याका सम्बन्धमा केही केहीले भने एमालेकै नेतातर्फ औला समेत ठड्याएका छन् । आफ्नो निकट प्रतिद्धन्दी एमालेका सभाषद् भएका कारण पनि उनीहरूले यस्तो आशंका गर्दै त्यसतर्फ औला ठड्याएका हुन् । प्रहरीले मियाँको हत्याबारे अनुसन्धानको दायरा फराकिलो पार्ने बताएको छ ।
संविधानसभामा बबन सिंह र मियाँ दुईजना मात्र स्वतन्त्र सभासद थिए । संविधानसभाको संवैधानिक समिति र राष्ट्रिय हित संरक्षण समितिमा उनले काम गरेका थिए । माधवकुमार नेपाल प्रधानमन्त्री बनेको समयमा समितिले प्रधानमन्त्री र परराष्ट्रमन्त्री सुजाता कोइरालासँग छलफल गरेको समयमा सिमा क्षेत्रमा भारतीयबाट नेपालीमाथी भइरहेको दमनबारे बोल्दै गर्दा उनले आशुँ चुवाएका थिए ।
मियाँको हत्या सम्बन्धमा पूर्वमन्त्री जयप्रकाश गुप्ताको भनाई यस्तो छ...
पूर्व सभासद सदरूल मियाको हत्या एक कायरतापूर्ण कार्य हुन् । सबैका प्रिय ऊनी धार्मिक विचारका थिए । उनको आत्माले शांति पाउन् । यस घटनाको गंभिरताका साथ छानविन हुनै पर्दछ । हाल देशकै र खास गरी सप्तरी, सिरहा तिरको खस्कदों सुरक्षाले हामी सबैको जीवनलाइ खतरामा पारेको छ । जो सरकारको विपक्षमा छ वा सरकारको चासो भित्र छैन, उ कुनैपनि बेला मर्न सक्ने स्थितिमा छ । नमारूञ्जेल बाच्ने अवस्था मात्र छ । निर्वाचन पहिलेको यो घटना सामान्य होइन हैं । यसमा विचार हुनै पर्दछ ।

-नेपालीहेडलाईन्स





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya