Widgets

Author : Govinda Baniya.
 (हरिव‌ंश आचार्यको आत्मकथा 'चिना हराएको मान्छे' बाट साभार । यो किताब आइतबार सार्वजनिक भएको छ बाँकी अँश पनी राख्नेछौ कृपया ब्लगमा फर्किँदै गर्नुहोला । )



 न्यार इष्ट र बाउ दुष्ट कहिल्यै हुँदैन !यो उखान केही सङ्कुचित क्षत्रीबाहुनहरुले बनाएका हुन् ।


बर्मु इष्ट व बा दुष्ट गब्ले जुइमखु !यो उखान पनि केही सङ्कुचित नेवारहरुले क्षत्रीबाहुनलाई जबाफ दिनकै लागि बनाएका हुन् ।
यस्ता साम्प्रदायिक भनाइ केही मूर्खहरुले पहिलेदेखि नै भन्दै आए । तर अहिलेका महामूर्खहरुले दस कदम अगाडि बढेर नेवार र बाहुनबीचमा मात्र होइन, सबै नेपालीहरुबीच जातीय विभाजनको अति सङ्कुचित बीउ रोपिदिएका छन् । ती पुरातन वा सङ्कुचित मान्छेहरुभन्दा पनि अहिलेका कथित आधुनिक नेताहरु अझ बढी सङ्कुचित देखिए ।
ब्लड बैङ्कमा जम्मा हुने रगतको कुनै जात हुँदैन तर समूह हुन्छ । जीवनमरणको दोसाँधमा पर्दा यो कुन जातको मान्छेको रगत होभनेर सोधखोज गरिँदैन । समूह मिले जुनसुकै जातको मानिसको रगत भए पनि जीवन बचाउँछ । समूह मिले संसारका जुनसुकै मानिसको रगत जुनसुकै मानिसलाई मिल्छ । संसारभरिका मानिसको यति गहिरो रगतको नातालाई जातीय
, क्षेत्रीय, वर्गीय, लिङ्गीय, राष्ट्रिय, धार्मिक आधारमा विभाजन गर्न खोज्नुले मानिसमानिसबीच विभिन्न समयमा सानाठूला युद्धहरु भएका छन्, जसले मानवसमाजलाई नै ध्वंस गरेको छ ।



म छ वर्षको हुँदा बा बित्नुभयो, एघार वर्षको हुँदा आमा । उहाँहरुको साथ मैले छोटो समय मात्र पाएँ । तर नेवार मदनकृष्ण दाइसँग सहकार्य गरेको बत्तीस वर्ष भइसक्यो । संयोग नै भन्नुपर्छ, मेरो जीवनमा नेवार जस्तो इष्ट कोही भएन । कुनै जात र धर्मका मानिस मेरा लागि दुष्ट भएनन् । मैले पनि सबै जात, धर्म र वर्गका मानिसको इष्ट हुने मौका पाएँ ।
मदनकृष्ण श्रेष्ठलाई राम्ररी चिनिसकेको थिएँ । धेरैओटा कार्यक्रममा एउटै मञ्चबाट तर अलगअलग प्रदर्शन पनि गरिसकेका थियौं । उनी एक किसिमले रङ्गमञ्चको प्रतिद्वन्द्वी नै थिए मेरा । २०३७ सालमा नेपाल राष्ट्र बैङ्कको रजतजयन्ती समारोहमा सांस्कृतिक कार्यक्रम प्रदर्शन हुने भएछ । नेपालका प्रसिद्ध गायक रूबी जोशी राष्ट्र बैङ्कको विशिष्ठ श्रेणीका अधिकृत थिए । उनले नै दुइटा प्रहसन राख्नुपर्छ, एउटा मदनकृष्ण श्रेष्ठलाई बोलाउने, अर्को हरिवंश आचार्यलाई बोलाउनेभनेर सिफारिस गरेछन् ।

हामी दुई प्रतिद्वन्द्वी भएर राष्ट्र बैङ्क छिर्‍यौं तर एक घण्टापछि जीवनभरिका सहकर्मी भएर निस्कियौं । दुवै जनाले दुइटा छुट्टाछुट्टै प्रहसन देखाउने भनेर गएको त राष्ट्र बैङ्कको रजतजयन्ती समारोहको मुख्य अतिथि भएर राजा आउने रहेछन् । समय जम्मा नब्बे मिनट दिएको रहेछ दरबारले । नब्बे मिनटभित्र सक्नुपर्ने, राष्ट्र बैङ्कका अरु पनि धेरै कार्यक्रम थिए । छुट्टाछुट्टै दुइटा प्रहसन प्रदर्शन गर्न समय नपुग्ने भयो ।
रूबी दाइले भने— “तपाईंहरु दुवै जना मिलेर एउटा प्रहसन देखाउनुस् ।
तर उनको बोलीमा त्यस्तो लच्छिनरहेछ— ‘जीवनभरि मिल्नू, मिलेर काम गर्नूभनेर आशीर्वाद दिएको जस्तो भयो । राष्ट्र बैङ्कको कार्यक्रम भएको हुनाले हामीले बैङ्कसम्बन्धी नै प्रहसनको विषय छान्यौंकृषि विकास बैङ्कबाट भैंसी किन्न ऋण लिने, भैंसी नकिनी अरु नै काम गरेर ऋण लिएको सबै पैसा सक्ने, अनि बैङ्कले भैंसी चेक गर्न आयो भने खेतमा चरिरहेका अरुकै भैंसी देखाइदिने । आखिर भैंसी सबै उस्तै हुन्छन्, कालै ।


म उद्दण्ड स्वभावको थिएँ । मेरो बाल्यकालको परिस्थिति नै उद्दण्डतामा बित्यो । तर करूणाको गुण नभएको मान्छे कलाकार वा सिर्जनशील हुनै सक्तैन । ममा पनि करूणाको गुण अलिअलि छ जस्तो लाग्छ । मदनकृष्णको सङ्गतले गर्दा उद्दण्डता बिलाउँदै गएका कारणले करूणा अगाडि आउन थाल्यो । त्यसैले म लक्ष्मीनाथ सरले भने जस्तै सप्रिएँ ।
मैले सोधेँ— “किन यो मोटर साइकललाई यसरी झुन्ड्याउनुभएको ?”
बैङ्कबाट कर्जा दिलाउने कर्मचारीको नियत पनि नराम्रो, ऋणीको पनि नियत नराम्रो देखाउन खोजिएको थियो । प्रहसन निकै राम्रो भयो । त्यो एउटा प्रहसन मात्र होइन, जीवन नै राम्रो भयो, भाग्य नै बलियो भयो हाम्रो ।
करिब पन्ध्र दिन स्क्रिप्ट लेख्ने, रिहर्सल गर्ने काम गर्‍यौं । तर त्यो पन्ध्र दिनको भेटघाट पन्ध्र पुस्ताभन्दा बढी नेपाली भाषीहरुले सधैं सम्झिरहने सम्बन्ध बनायो ।
त्यसको लगत्तै प्रज्ञाभवनमा गाईजात्रा महोत्सव आउँदै थियो । सधैं प्रतिद्वन्द्वी भएर प्रहसन देखाउने हामीले यसपालि सँगै मिलेर प्रहसन गर्ने सल्लाह गर्‍यौं । म नक्सालमा बस्थें, मदन दाइ भोटेवहालमा । स्क्रिप्ट तयार पार्न कहिले उनी मकहाँ आउँथे, कहिले म उनको डेरा भोटेवहाल जान्थें ।
त्यस बेलादेखि नै मदन दाइकी पत्नी यशोदा भाउजूले मलाई देवर जस्तै ठानिदिइन् । मीठोमीठो पकाएर खान दिइन् । भतिज यमन, भतिजी सराहना काखमा लुटपुटिन थाले । त्यसपछि हाम्रो सम्बन्ध पारिवारिक जस्तो हुन पुग्यो ।
हामी दुवै मिलेर यमलोकनामक प्रहसन तयार पा¥यौं । मदन दाइको साथी नवीन चित्रकार र कार्यालयका साथी मङ्गलनारायण जोशीलाई हामीले लेखेको सुनाउँथ्यौं । उनीहरु सल्लाहसुझाव दिन्थे ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको हलमा भीआईपी सो थियो । राजा कार्यक्रमका प्रमुख अतिथि हुन्थे अनि सत्तामा भएका शक्तिशाली व्यक्तिहरु पनि त्यस दिन आमन्त्रित हुन्थे । त्यसपालि त्यहाँ एउटा अर्को आकर्षक व्यक्तित्व थिएविश्वेश्वरप्रसाद कोइराला । उनी राजनीतिमा बीपी र साहित्यमा विश्वेश्वरप्रसादका नामले प्रसिद्ध थिए ।
२०३६ सालमा बहुदलले चुनाव हार्‍यो, पञ्चायतले नै जितेको घोषणा गरियो । त्यसलाई बीपीले देशको अवस्थाअनुसार स्विकार्छुभनेका थिए । पञ्चायतबाहेक बहुदलीय व्यवस्थामा आस्था राख्ने अरु कुनै नेतालाई बोलाउने चलन थिएन । कसैले बोलायो भने त्यसमाथि नै शङ्काको दृष्टि राखिन्थ्यो।
विजयबहादुर मल्ल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव थिए । उनले विश्वेश्वरप्रसाद कोइरालालाई एउटा साहित्यकारको नाताले प्रज्ञाभवनमा आमन्त्रण गरिएको होभनी मौखिक स्पष्टीकरण दिनुपर्‍यो रे । त्यस बेला व्यङ्ग्य साह्रै घुमाउरो र कलात्मक हुन्थ्यो । सेन्सरमा प्राज्ञहरु दरबारलाई केही व्यङ्ग्य पर्छ कि भनेर खुब सतर्क हुन्थे । सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । हामीले यमलोकप्रहसनमा सूर्यबहादुर थापालाई तीखो व्यङ्ग्य प्रहार गरेका थियौं ।
यमलोक पुगेको पात्रले यमलोकमा पनि सूर्यलाई देख्छ र त्यो कोभन्दा सूर्य भगवान्भन्छ । पृथ्वीबाट मरेर आएको पात्रले त्यो सूर्य तल पृथ्वीबाट हेर्दा पनि माथि देखिन्थ्यो, मरेर यहाँ माथि आउँदा पनि माथि नै देखिन्छ । त्यो सूर्य त्यति माथि रहेछभन्दा हलमा धेरै बेर नरोकीकन ताली बजेको थियो । राजाले मुन्टो घुमाएर ताली बजाउने दर्शकलाई हेरेका थिए । प्रम सूर्यबहादुर थापा आफूलाई व्यङ्ग्य गरेको देखेर स्वयम् हाँसेर झन् रातो भएका थिए ।
नेपालको न्यायप्रणाली, शान्तिसुरक्षा, प्रशासन सबै मरेर यमलोक पुगेका हुँदा रहेछन् । मरेर यमलोक आउने पात्रले त्यही त भन्या, नेपालमा न्याय, शान्तिसुरक्षा, प्रशासन केही देखिँदैन । कहाँ गयो भन्ठानेको त मरेर यहाँ यमलोकमै आइसकेको रहेछ । त्यसैले पो त नेपालमा नदेखिएको रहेछ तभन्दा हलमा फेरि ताली बजिरह्यो ।
त्यस बेला यति गर्नु भनेको साहै्र ठूलो व्यङ्ग्य हुन्थ्यो । प्रदर्शनकै क्रममा हामीले दर्शकदीर्घामा बसेका विश्वेश्वरप्रसाद कोइरालालाई देखाउँदै उहाँ को नि ? चिन्याचिन्या जस्तो लाग्छभन्दा उहाँ त मोडल डेमोक्रेसी होभन्यौं ।
त्यस बेला बीपीलाई मोडल डेमोक्रेसी भनिन्थ्यो । उनलाई हेर्दै हामीले फेरि भन्यौं, ‘ए मोडल डेमोक्रेसी ? तपाईं पनि मरेर यहाँ, यमलोकमा ? नेपालमा मोडल डेमोक्रेसी कता हरायो भनेको त मरेर यमलोकमै आइसक्या रेछभन्ने व्यङ्ग्यचाहिँ बीपी प्रहसन हेर्न आएको थाहा पाएपछि थपेका थियौं । सङ्गीतकार नातिकाजी बीपीसँगै बसेका रहेछन् । बीपीले त्यो संवाद सुनेर यी केटाहरु त जोडदार रहेछन्, भेट्नुपर्‍यो भनेका थिए रे तर बीपीसँग भेट गर्नै पाइएन ।
यमलोकप्रहसनलाई हामीले कार्यक्रम हलबाटै अडियो क्यासेटमा रेर्कड गरेका थियौं । त्यस बेला लोकगीत र आधुनिक गीतका क्यासेटहरु बजारमा किन्न पाइन्थ्यो तर प्रहसन र हास्यव्यङ्ग्यको क्यासेट निकाल्ने चलनै थिएन । हामीले यमलोकलाई क्यासेटमा निकालेर बिक्री गरौं भन्ने सल्लाह ग¥यौं । यमलोकजम्मा आधा घण्टाको मात्र थियो । क्यासेट निकाल्न फेरि अर्को आधा घण्टाको प्रहसन चाहियो । त्यसैले हामीले प्यारालाइसिसभन्ने अर्को प्रहसन पनि बनायौं । त्यो प्रहसनमा देशको नेतालाई प्यारालाइसिस भएको छ, जो बोल्न मात्र सक्छ कामचाहिँ गर्न सक्तैन । मुख मात्र चल्छ, हातखुट्टा केही चल्दैनभनेर प्रतीकात्मक रुपमा व्यङ्ग्य गरेका थियौं । रङ्गमञ्चमा मञ्चन गरेर त्यसलाई पनि अडियोमा रेकर्ड गर्‍यौं ।
ए र बी साइडमा आधाआधा घण्टाका दुइटा प्रहसन राखी यमलोकक्यासेट बजारमा ल्यायौं । क्यासेट निकाल्दा कान्छा कर्माचार्यले उधारोमा कभर डिजाइन गरिदिए । अमृत शाक्य दाइले सेवा प्रिन्टिङ प्रेसमा उधारोमै कभर छापिदिए ।
हामीसँग जम्मा दसबाह्र हजार रूपैयाँ मात्र थियो । त्यति पैसाको खाली क्यासेट किन्न कमलेस अग्रवालकहाँ गयौं । उनी सिङ्गापुरबाट खाली क्यासेट ल्याउँथे र हिन्दी गीत भरेर बेच्ने काम गर्थे । हामीले त्यहीँ क्यासेट भर्न दियौं । अब हाम्रो नयाँ काम सुरू भयोहामी झोलामा क्यासेट बोकेर न्युरोड, रत्नपार्क, असन, इन्द्रचोकका क्यासेट पसलहरुमा आफै बिक्री गर्न थाल्यौं ।
प्रहसनको क्यासेट, सुरूसुरूमा त पसलेहरु किन्नै मान्दैनथे । यसको सट्टा लोकगीत ल्याउनुस् नभन्थे । एउटा पसलमा हामी दसबाह्रओटा जबरजस्ती छाडिदिन्थ्यौं बिकेन भने फिर्ता लगौंलाभनेर ।
जब क्यासेट पसलमा लाउडस्पिकर जोडेर साहुजीले बजाउन थाले, पसलबाहिर सुन्नेको भीड लाग्न थालेछ । दसबाह्र पिस जबरजस्ती लिएको पसलेले भोलिपल्ट सय पिस अडर गर्‍यो । यति धेरै माग बढ्यो कि हामीसँग मागअनुसारको क्यासेट किन्ने पैसै भएन ।
कमलेस अग्रवालको दुईतले घरभरि सिङ्गापुरबाट मगाइएका खाली क्यासेट थिए । उनले तपाईंहरु चिन्ता नगर्नुस्, जति क्यासेट चाहिए पनि म उधारोमा दिन्छुभने । हामी रातभरि नसुती क्यासेट रेकर्ड गर्थ्यौ‍‌ र सेलोफिन पेपरले बेर्थ्यौ‌ । भोलिपल्ट ट्याम्पो रिजर्भ गरेर पसलपसलमा बाड्थ्यौं ।
त्यस बखत अहिले जस्तो घरघरमा टेलिभिजन थिएन । अलि हुनेखाने मान्छेकहाँ क्यासेट प्लेयर हुन्थ्यो । क्यासेटमा गीत सुन्नु नै त्यो बेलाको सम्पन्नता थियो । हाम्रो यमलोकपनि हरेक क्यासेट प्लेयर भएका नेपालीको घरघरमा हुन्थ्यो । क्यासेट सुन्नेहरुले यस्तो व्यङ्ग्य त के गरी गर्न सकेको होला ! यस्लाई त सरकारले प्रतिबन्ध लगाउँछभन्थे । प्रतिबन्ध लाग्छभन्ने हल्ला सुनेपछि क्यासेटको बिक्री त झन्झन् बढ्न पो थाल्यो ।
अझ उपत्यकाबाहिरका जिल्लामा त क्यासेट सुनेको सीडीओले थाहा पाउँछभनेर झ्यालढोका बन्द गरेर सानो स्वरले सुन्थे रे । गाउँका क्लबहरुले क्यासेट किनेर क्लबमै राखे रे । विदेशमा बस्ने नेपालीलाई उपहार पठाइदिने सामानमा हाम्रो क्यासेट पनि हुन्थ्यो । एक पटक हामी रसियामा कार्यक्रम गर्न जाँदा त्यहाँस्थित नेपाली राजदूत कुमार ज्ञवालीले आफ्नो भाषणमा भनेका थिए— “नेपालबाट कोही मान्छे आयो भने गुन्द्रुक, मस्यौरा र महजोडीको क्यासेट पठाइदिनु भन्छन् ।हामीलाई स्वादको गुन्दु्रक र मस्यौरासँग दाँज्दा खुब आनन्द लाग्थ्यो ।
यमलोकक्यासेट त्यस बेला मात्रै हामीले १ लाख ५० हजार थान बेचेको सम्झना छ । त्यो क्यासेटको बिक्रीबाट मेरो वासै जोडियो । मैले चार आना जग्गाको पैसा तिरेर दुईतले घरै बनाएँ ।
त्यसपछि हामीले अंशबन्डा’, ‘ककफाइट’, ‘रद्दीको टोकरीथुप्रै प्रहसनका क्यासेटहरु बजारमा ल्यायौं । त्यसबाट प्राप्त भएको आम्दानीले चाइनिज इँटाले बनाएका तीन तलाका दुइटा घर हेर्दा मलाई लाग्थ्योम क्यासेटको बट्टा चाङ लगाएर त्यसमै सुतिरहेको छु ।
राष्ट्र बैङ्कले एउटा प्रहसनका लागि भनेर बनाइदिएको जोडी नेपालको स्थायी जोडी बन्यो । आम्दानीसँगसँगै हामीले नाम, इज्जत सबै पाउँदै गयौं । हरेक कुरामा मान्छेलाई सफलतासँगै आम्दानी पनि हुनुपर्छ । आम्दानी नभएको भए हामी यति लामो सहकार्य गर्न सक्तैनथ्यौं होला । नत्र रोटी, भात खोज्न अर्को काम गर्न थाल्नुपर्थ्यो ।
तर मानिसहरु हामीले जति कमायौं, त्योभन्दा धेरै गुना कमाएका छौंभन्ने सोच्छन् । कलाकार भनेपछि भारतका अमिताभ वच्चन, शाहरूख खान, अमीर खानले जति पैसा कमाउँछन् हामीले पनि त्यति नै कमाउँछौं भन्ने सोच्छन् । भारतमा उनीहरुको जीवनशैली जस्तो छ, हाम्रो पनि यहाँ त्यस्तै होला भन्ने ठान्छन् । अमिताभ वच्चन एउटा चलचित्रमा अभिनय गरेको पारिश्रमिक चालीस करोड भारू पाउँछन् भने हामीले चार लाख नेरू पनि मुस्किलले प्राप्त गर्छौं ।
उनीहरु दस मिनट रङ्गमञ्चमा प्रस्तुत भए भने दुई करोड रूपैयाँ पाउँछन् भने हामी एक घण्टा रङ्गमञ्चमा प्रस्तुत हुँदा नब्बे हजार नेपाली रूपैयाँ पाउँछौं होला । अनि ठट्टा गरेर भन्छौं— ‘हामी नब्बे हजार पाउँछौं । उनीहरु दुई करोड पाउँछन् । नब्बे धेरै कि दुई ? अनि हाम्रो एक घण्टा लामो टेलिसिरियल आउँदा अमिताभ वच्चनको तीस सेकेन्डको डाबर च्यवनप्राश, बोरो प्लस, तेलको विज्ञापन आउँछ । हाम्रो एक घण्टा लामो टेलिफिल्म ठूलो कि उनीहरुको तीस सेकेन्डको विज्ञापन ठूलो ?’
हामी नेपालीहरु उनीहरुको देशको टिभीमा कहिले सानोसानो विज्ञापन खेलौंला ?
म यसै ठट्टा गर्ने गर्छु
— ‘हामी उनीहरुको देशको सानो विज्ञापन पनि खेल्दैनौं, ठूलठूलो फिल्म पनि खेल्दैनौं, आफ्नै देशमा फुर्सद छैन हामीलाई । उनीहरुको पो त फुर्सद छ अनि नेपालका टिभीहरुमा विज्ञापन खेल्न आउँछन् ।ठट्टै त हो, ‘अझ अमिताभ वच्चनको बुबाको नाम पनि हरिवंश राय वच्चन हो । आफ्नो बुबाको नाम मिल्नेलाई त अङ्कल भन्नुपर्छ । अमिताभ वच्चन मेरो घरमा दसैंमा टीका लाउन आउनुपर्छ तर आउँदैनन् । ठीकै छ, उनी नआए पनि मै दसैंमा टीका लाउन मुम्बै गइदिऊँ भने पनि इन्डियनहरु दसैंमा टीकै लगाउँदा रहेनछन् ।






तर, नेपालमा पनि अरु घुस नखाने कर्मचारीहरुको भन्दा त गर्न सक्ने कलाकारहरुको आम्दानी धेरै राम्रो छ ।
मान्छेले आयस्रोत भएपछि मात्र समाजसेवा गर्न सक्छ । आयस्रोतबिनाको समाजसेवा मान्छेले दुई दिन गर्छ, अनि थाक्छ । स्वार्थ नभएको कोही हँुदैन । ममा पनि स्वार्थ छ । जोडी भएर काम गर्दा सफलता प्राप्त भयो । नाम, दाम, इज्जत प्राप्त भयो । त्यही स्वार्थले हामीलाई बाँध्दैबाँध्दै अगाडि बढायो । केही गरी हामी सफल हुन नसकेको भए हाम्रो जोडी पहिल्यै फुटिसक्थ्यो । हुन त नाम, दाम भयो भन्दैमा जोसँग पनि सहकार्य गर्न सकिँदैन । सफल हुन दुई मान्छेको अन्तरमनदेखि नै मिलन हुनुपर्छ, मेहनती हुनुपर्छ, स्वार्थ कम र इमानदारी बढी हुनुपर्छ । पार्टनरसिपको महङ्खव बुझ्नुपर्छ र धेरै कुरामा सम्झौता गर्न पनि सक्नुपर्छ । मैले पनि मदनकृष्ण श्रेष्ठसँगको सहकार्यमा धेरै सम्झौता गरेको छु । उनले मैलेभन्दा बढी गरेका होलान् ।
मैले मदन दाइमा सबै कुरा भेट्टाएँ, त्यसैले हामी लामो सहकार्यमा छौं । हाम्रो मात्र होइन, हाम्रो परिवार, परिवारको सद्भाव पनि सहकार्यको बलियो खम्बा भएको छ । रत्नराज्य स्कुलमा मुखियाको जागिर लगाइदिने मेरा आदरणीय शिक्षक लक्ष्मीनाथ अधिकारीले मलाई एक दिन बाटोमा भेटेर खुसी हँुदै भने— “हरिवंशे, तँ यति सप्रेलास् जस्तो लागेको थिएन बाबु !
सायद मदनकृष्ण श्रेष्ठ जँड्याहा भएको भए म पनि जँड्याहा हुन्थें होला । उनमा नकारात्मक सोच बढी भएको भए म पनि त्यही सोचमा हिँड्थें होला ।
फोहर नै त मल हुन्छ । सायद म मलमा सप्रिएको मुला, फोहरमा हुर्किएको रुख । फहोर मेरो जरामा भए पनि काण्ड, हाँगा र पातमा नहोस् भन्ने कुरामा म सधैं सचेत छु । मलको पौष्टिक तङ्खव लिएर फलेको आँपको स्वाद आँप जस्तै गुलियो हुन्छ । त्यहाँ मलको कुनै अवषेश हुँदैन ।
घट्टेकुलोको गाल्लीमा हाम्रो घर थियो । त्यस घरमा मैले मीरालाई भिœयाएँ । त्यही घरमा दुइटा छोरा जन्मिए, हुर्किए । त्यो घर नै मेरो प्रगतिको मन्दिर थियो । हाम्रो घर भएको गल्लीमा टोलवासी मिलेर ढल हाल्यौं, इँट हाल्यौं तर त्यो गल्लीलाई सडक बनाउन सकेनौं । सजिलै गाडी ओहोरदोहोर गर्न सक्ने बनाउन सकेनौं ।
गल्लीलाई सडक बनाऔंभन्दा गल्लीको मुखैमा बस्नेले मलाई कुटे । मैले पनि कुटें । एक जना गल्लीकै मुखमा घर भएकी महिलाले त झगडा गर्दा मेरो गुप्ताङ्ग नै निमोठी दिइन् । उनको हात छुटाउन मैले उनको छातीमा मुक्कै हान्नुप¥यो तर गल्ली फराकिलो पार्न सकिएन । अन्त्यमा मैले घट्टेकुलोको घरै बेचेर जाने निर्णय गरें ।
घर त बिक्री भयो तर म रातभरि सुत्न सकिनँ । जुन घरमा बसेर मैले यत्रो प्रगति गरें । मीरालाई भिœयाएको, छोराहरु जन्मेको, खेलेको घर किन बेचेछु ? बरू जसोतसो यही गल्लीमै बसेको भए पनि हुन्थ्यो नि जस्तो लाग्यो ।
मीराका आँखा आँसुले टिलपिल भए । घर बेचेपछि सर्नै पर्‍यो । सरेको दिन म नयाँ बजारको डेरामा पुगेर खुब रोएँ । घेट्टेकुलोमा मान्छेले ठेगाना बताउनुपर्दा हरिवंशको घरनेर अथवा त्यहाँबाट यता जाने, उता जाने भन्ने गर्थे । त्यो गल्लीको अघोषित नामै हरिवंश गल्ली थियो ।
मानिसहरु पहिलेपहिले ठेगाना बताउँदा हरिवंशको घरनेरभन्थे । हिजोआज पनि हरिवंशले बेचेको घरनेरभन्छन् रे । राई थरका मानिसले घर किने । त्यो घरकी बूढी राई आमा भन्ने गर्छिन् रे— “हामीले त्यत्रो पैसा तिरेर किने पनि त्यो बाहुनको भूतले यो घर छोडेन ।
बूढानीलकण्ठमा कुमार थापाले हामीलाई घरमा खाना खान निम्तो दिए । हामी सपरिवार गएका थियौं । उनको घरको कम्पाउन्डमा ग्यारेज रहेछ । ग्यारेजको भित्तामा सिक्रीले बाँधेर एउटा सीजी जापानिज मोटर साइकल फोटो झुन्ड्याए जस्तै गरी झुन्ड्याएका रहेछन् । कहीँ नदेखेको दृश्य ।
उनले भने— “हेर्नुस् दाइ, मसँग पहिले केही थिएन । यो मोटर साइकल चढेर मैले धेरै काम गरें । धेरै प्रगति गरें । म आज यति सम्पन्न हुनुमा यो मोटर साइकलले ठूलो साथ दिएको छ । अब यो पुरानो भयो, बूढो भयो । यसलाई कबाडीको भाउमा बेच्न मेरो मनले मानेन । त्यसैले यो मोटर साइकलको गुन तिर्न, यसलाई नबिर्सन मैले यसरी भित्तामा झुन्ड्याएर राखेको हुँ । म बाहिर निस्कँदा जैले पनि यसलाई मनमनै ढोगेर जान्छु ।
मेरो पनि जीवनमा पहिलोचोटि किनेको एउटा मारूती जिप्सी मोटर छ । त्यो जिप चढेर मैले पनि धेरै प्रगति गरेको छु । जीवनका धेरै सिँढीहरु चढेको छु । धेरै लामो यात्रा गरेको छु । धेरै रङ्गमञ्चमा प्रस्तुत भएको छु । धेरै सुटिङमा खटेको छु त्यो जिपमा गएर ।
मैले त्यो जिप चलाउँदा मीरा अगाडि बस्थिन् । मैले गाडी अलि कुदाउँदा मीरा तर्सेर अगाडिको ह्यान्डिल समाउने गर्थिन् । त्यसरी तानेर समाउँदासमाउँदै ह्यान्डिलै अलिकति बाङ्गो भयो । मदन दाइ पनि तर्सेर त्यही ह्यान्डिल तान्थे । ह्यान्डिल बाङ्गो हुनुमा मेरो रफ्तार र प्रगति गाँसिएको छ ।
जिप्सी पुरानो भयो, धेरै तेल खान थाल्यो, अनि मैले तीन लाख रूपैयाँमा बेचें । बेचेको रात मलाई पटक्कै निन्द्रा लागेन । मानौं, मैले मेरो जीवनको बहुमूल्य चिज बेचें । त्यो जिप चढेर मैले गरेका प्रगतिहरु झलझली सम्झिएँ ।
मेरा आँखाअगाडि कुमार थापाले सीजी मोटर साइकललाई प्रगतिको गुन सम्झेर घरको ग्यारेजमा सम्मान दिएको दृश्य आइरह्यो । जीवनमा पहिलो पटक किनेको जिप, प्रगतिपथमा त्यो निर्जीव यन्त्रले दिएको साथ याद आइरहन्छ ।
कहिलेकाहीँ त्यो जिप बिरामी भएर स्टार्ट नहुँदा मलाई कत्रो पिर पर्थ्यो, मानौं मेरो परिवारको कुनै सदस्यलाई सन्चो छैन । त्यो जिपमा कसैले छोएर कोरिदियो भने त्यसको शरीरमा कोरिदिएको धर्को मेरै शरीरमा लागेको जस्तो लाग्थ्यो अनि हत्तपत्त त्यसलाई निको पार्न ग्यारेजमा लगिहाल्थें । तर आज त्यो पुरानो भयो, अलि बूढो भयो भनी मैले तीन लाख रूपैयाँमा बेचेंभनेर छाती चर्किएर आउँछ ।

त्यो जिप्सीसँग मेरो सुखदुःख साटिए जस्तो लाग्छ । त्यसैले मलाई जिप्सी निर्जीव होइन जीवित साथी जस्तो लाग्छ । किनभने ऊ पनि जीवितले भैmँ हिँड्छ, खान्छ, सहयोग गर्छ ।


बेचेको भोलिपल्ट बिहानै मदन दाइलाई फोन गरें र जिप बेचेर सुत्न नसकेको कुरा सुनाएँ । नामसारी गरिसकेको छैन, सुटिङलाई त जिप नभइहुन्न, भाडामा लिनुपर्‍यो भने पनि धेरै पैसा तिर्नुपर्छ । तीन लाख रूपैयाँ महसञ्चारले हाल्यो भने त्यो जिप महसञ्चारको हुन्छभनें । मदन दाइले हुन्छ भने । मैले दस बजे नै तीन लाख दिएर गाडी फिर्ता ल्याएँ ।
ती निर्जीव वस्तुसँग त त्यत्रो आत्मीयता हुँदो रहेछ भने तेत्तीस वर्षको सहकार्यमा साथी मदनकृष्णसँगको आत्मीयता कति गहिरो र हार्दिक होला ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya