Widgets

'लौ साई सेना आयो, भाग्नुस्, भाग्नुस्' घरको बार्तलीमा सुतेको बिकास चिच्चायो ।  म र कम्रेड पुकार  पिँडिको डिलमा गुन्द्री औच्छाएर बस्दै चिया पिउँदै थियौँ । मैले भर्खर जुत्ताको तुना कसेको थिएँ । बिकासको बोलीमा बिश्वास भएन, र म आँगनमा निस्किएर हेर्दा करिव एक किलोमिटर टाढाबाट सेनाको एक हुल आइरहेको थियो । हामीलाई भाग्नका लागी पर्याप्त समय थियो । मैले झोला समातेँ र कम्रेड पुकारको पाखुरो तान्दै आँगनबाट मुलसडक भएर भाग्ने तयारि गर्यौँ । चियाको गिलास त्यँही आँगनमै हुर्याईयो।  आँगनबाट दुई पाईला नसार्दै घरको तिन घेरामा सेनाले घेरा हालिसकेको रहेछ । दुई ग्रुपमा आएको भन्ने थाहा भयो । अरु बाटो भएर भाग्नलाई हामीसंग विकल्प थिएन । आँगनबाट तलपट्टि हाम फाल्यौँ, सेनाले फायरिङ्ग शुरु गर्यो, र हाम्रो पिछा गर्यो । ज्यान बचाउनलाई बारिका अग्ला अग्ला कान्लाबाट फराल्यौँ, कतै मुन्टाले टेक्न पुगिन्थ्यो कतै हातले कतै त टेक्नै मेसै मिल्दैनथ्यो त्यतिकै अर्को कान्लाबाट नाघिन्थ्यो । कतै साना साना रुखको सहराले पर पर उछिट्टिन्थ्यौँ । जसरी हुन्छ हामीलाई ज्यान बचाउनु थियो । त्यतीमात्रै होईन हाम्रो झोला सेनाको हात लाग्यो भने अर्को खतरा हुन्थ्यो, पार्टीकै लागी  । त्यसैले पनी वायुबेगमा भागिरहेका थियौँ हामी । लगभग १०० भन्दा बढी कान्ला हाम फालियो होला । सेनाले दुईतिरबाट पायरिङ्ग गरिरहेको थियो । कहिले कान हल्लाउँदै गोली जान्थ्यो कहिले घुँडामुनीबाट ।  हामीसंग हतियारको नाममा तिनवटा ग्रिनेड मात्र थियो । दुईटा मेरो झोला र एउटा पुकारको झोलामा । हामीले ग्रिनेड निकालेर फाल्न सक्ने अवस्थै थिएन । निकाल्न त के पछि फर्कियौँ भनेपनी सिकार भईहाल्नुपर्दथ्यो । हामी होसमै भागिरहेका थियौँ कि बेहोसीमा पत्तो थिएन । मुटु भुक्क फुलेर सासै अड्किएको थियो । सबैतिर अँध्यारै अँध्यारो देखिन्थ्यो । रुखहरु देख्दा पनी सेनाले हतियार समाएर उभिएजस्तै देखीन्थ्यो कतै त हो की भनेर तर्किन्थ्यौँ पनी हामी । कतिबेला मैले पुकारको पाखुरो समातेर तान्थेँ । कतिबेला पुकार । कम्तिमा पनी ४ किलोमिटरसम्म सेनाले फायरीङ्ग गर्न छोडेन, हामी भाग्न छोडेनौँ न त सेनाले लखेट्नै छोडेको थियो । हामी कमजोर भईरहेका थियौँ । जति बढि दकुरेपनी सेनासंग दुरि छोटिन्थ्यो ।


दौडिँदै जाँदा मेरो  टाउको  रुखसंग जोतिन पुग्यो । आँखामा झिल्का बल्यो, मलाई रुखसंग ठोकिएको जस्तो लागेन । बरु कन्चटमै गोली लागेको जस्तो लाग्यो तर होईन रैछ । अगाडी पट्टीको रुखमा हेरपछि थाहा भयो ।  हात समातेर जम्प हान्दा दुबैजना तल्लो कान्लामा  मुन्टो जोत्न पुगियो । मेरो जुत्ता फुस्क्यो । जुत्ताको माया लाग्नै कुरै भएन । एउटा खुट्टामा जुत्ता र अर्को खु्ट्टामा मोजामात्रै लगाएर भाग्दै थियौँ । पुकार म भन्दा दुई मिटर अगाडी र म पछाडी गोलीलाई छल्न घरि दायाँ च्यापिन्थ्यौँ घरि बायाँ च्यापिन्थ्यो । सिधै दौडीदा बन्दुकको निशना चुक्दैनथ्यो त्यसैले ।  पुकार तल्लो बारिको डिलबाट फराल्दै थियो, म उपल्लो बारिको डिलबाट । म भन्दा करिव करिव ३० मिटर पछाडी शाहिसेनाको जत्था । कपालको रौँ हल्लाउँदै एउटा गोली सुईँकियो । म तल्लो गह्रामा पुग्दा पुकारले त्यो गह्रो नाघिसकेको थियो ।  पुकार जहाँबाट हाम फाल्यो म पनी त्यँहीबाट हाम फालेँ । तल्लो गर्हाको कुनामा म पुकारमाथी घोप्टिन पुगेँ । उ लडिरहेको थियो, खुट्टाले टेक्न सक्दैनथ्यो ।  पुकारको दाहिने खुट्टामा गोली लागेको रहेछ । मेरो कपाल हल्लाउने गोली पुकारको खुट्टामा बज्रिएको  ।  मैले उसलाई त्यतिकै त्यँही छोडेर जान सक्दिन थेँ । घिसार्दै दुई तिन कान्ला कटाएपछि फेरी दोस्रो गोली लाग्यो ढाडमा घिसार्न पनी नसक्ने भएँ अब ।  मेरो झोला भन्दा पुकारले बोकेको झोला बढी महत्वपुर्ण थियो । मैले त्यो झोला जसरी पनी पार्टिमा बूझाउनुपर्थ्यो । मैले पुकारलाई त्यहीँ छोडेर जान विवश थिएँ । खुट्टा र ढाडमा गोली लागेको उ तुरुक्क आँखाबाट आँशु चुहायो । मलाई झन् कती पिडा भयो होला, ४ बर्षदेखी संगसंगै घुमेको डुलेको साथिलाई अन्तिम अवस्थामा छोडेर जान । मैले सेनाको सामु आत्मसमर्पण नै गरेँ भने पनी मलाई जिउँदै छोडीदैनथ्यो ।  र त्यो कागजपत्र पनी ठाउँसम्म पुग्दैनथ्यो । उल्टै खतरा निम्त्याउँथ्यो गाऊँलेहरु र पार्टिका नेताहरुलाई समेत ।




मैले उसंग गफ गरेर वा हात हल्लाएर जान समेत मिल्दैनथ्यो । त्यसैल मैले पहिलाकै गतिमा दुईटा झोला बोकेर बारिका कान्लाहरु नाघ्दै गएँ ।  झन् धेरै फायरीङ्ग हुन थाल्यो । रुखमा बसेका चराहरू कराउँदै उड्न थाले । रुखबाट पातहरु झर्न थाले । म अली तल पुगेपछि फायरीङ्ग रोकियो । जत्थाले मेरो पिछा गर्न छाड्यो ।  'बाघ'ले एउटा 'बाख्रो' भेटिसकेको थियो अब अर्को 'बाख्रो' त्यो 'नखाई' पछाउने वाला थिएन । मलाई विस्तारै सास आउन थाल्यो । पुकार पनी म संगै भागिरहेको जस्तो लाग्छ तर त्यो मलाई लागेको मात्र हो । किनकी पुकार त 'शाहीसेना' को हात लागसकेको । हाम्रो भागाभाग जम्मा तिस मिनेट पनी चलेको होईन । तर चारबर्षसंगै खाने, सुत्ने गरेको साथि दुश्मनको अगाडी निरह छोडेर हिँड्नुपर्यो ।  त्यही १ घन्टा भित्र अझै भनौँ एक्कै मिनेटमा । म भाग्दै जाँदा बाबियाचौर पुगिसकेको थिएँ । प्यासले घाँटी सुकेको थियो । बोल्न सक्ने अवस्था थिएन तर बाँचे भन्नेचाँही लागेको थियो । बाबियाचौरमा मलाई नचिन्ने ज्यादै कम थिए । सबैले के भयो भनेर सोधे । आत्तिए मेरो त्यो अवस्था देखेर ।  नआत्तिउन पनी किन मेरो अवस्था हेर्न लायक भए पो । शरिर पुरै मटोले छोपिएको थियो । खुट्टामा जुत्तै थिएन, एउटा जुत्ता माथिनै फुस्कियो अर्को बाटोमा म आफैले फालेर हिँडे । पैतालाबाट रगत बगेको थियो । दुईटा काँधमा दुईटा झोला । धेरैजनाले कपडा फेर् भन्नुभयो, आराम गर्न भन्नुभयो  । तर म त्यँहा बसिरहनु उचित छँदै थिएन ।  त्यो एउटा बजार हो, कतैबाट त्यँही पनी सेना आउन सक्छ । हुन त केही समय अगाडी मात्रै त्यँहाको पुलिसचौकीबाटै पुलिस खेदाएको हामीले नै हो । त्यहाँसम्म आउने आँट त गर्दैनथे तर मैले सुरक्षा सतर्कता अपनाउनुपर्थ्यो । कम्रेड अनन्तको घरमा छिरेँ ।  पानीले मुख पुरै भिजाएँ , दुई गिलास दही दिनुभयो अनन्तकी भाउजुले दही पिएर बाटो लाग्ने तर्खर गर्दै थिएँ ।  कम्रेड विश्वास र रविन टुप्लुक्क त्यँही आईपुग्नुभयो । विश्वास म भन्दा पहिला त्यो एरिया ईन्चार्ज हुनुहुन्थ्यो । उहाँहरु हामीमाथिको आक्रंण बारे थाहा पाएरै रातो ढुङ्गाबाट दरबाङ्ग नगई फर्किनभएको रहेछ ।


त्यही दिन दरबाङ्गमा पार्टिको प्रशिक्षण कार्यक्रम थियो । जसरी भएपनी पुग्नुपर्ने, १२ बजेदेखि शुरु थियो ।
नन्दकिशोर पुन उर्फ कम्रेड 'पासाङ्' पनी आउने तय भएको थियो । बिहान हामी दुईजना चिया पिएर बाटो लाग्ने तर्खरमा त्यस्तो घटना भयो । मेरो एरियाको पनी रिपोर्टिङ्ग बुझाउनुपर्थ्यो त्यो दिन ।  हामीसंग  झोलामा भएको महत्वपुर्ण कागजात भनेको त्यही थियो।

 'तपाईँलाई गोली त लागेन' ? विश्वासले सोध्नुभयो ।
 'नाईँ मलाई लागेन, ठिकै छु तर पुकार...रहनुभएन सायद'
अँ मैले थाहा पाएँ' ।
'अनी दर्बाङ्गमा पनी साथिहरुलाई थाहा भयो यसबारै सबै'  ?
'अब हामी दर्बाङ्ग जाने ? ' मैले विश्वासलाई एकैचोटी सोधेँ ।
'प्रशिक्षण कार्यक्रम स्थगित भयो' विश्वासले जवाफ फर्काउनुभयो ।
'किन ?'
'तपाईँहरुमाथीको आक्रमण बारे थाहा भैसक्यो । अरु कम्रेडहरु पनि आउँदै हुनुहुन्छ । '
कम्रेडको यो जवाफले मेरो मनोबल बढेर आयो ।
'ल यो कपडा फेर्नुस्,'
विश्वासले एक जोर कपडा दिनुभयो ।  कपडा भिरेँ, चप्पल घुसारेँ ।
'रविन यो  झोला लिएर अर्मन जानुहुन्छ । तपाईँ र म घटनास्थल फर्किनुपर्छ,  कुनै न कुनै बहानामा, पुकारको अवस्था बुझ्नुपर्छ' । विश्सवाले कुरो चुहाउन नपाउँदै मैले बहाना बनाईसकेको थिएँ । अब हामी फर्किने निश्चित भयो । अरु कम्रेडहरु बेलुका फर्किने । मेरो बहाना ठिकै लाग्यो विश्वासलाई । हामी उकालो लाग्यौँ ।

क्रमश...










Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya