Widgets



आममानिसलाई लाग्दो हो हेटौंडा महाधिवेशनबाट एमाओवादी एकढिक्का भयो । तर, सदियौंदेखि चलेको नेपाली टुक्का चर्केको हाँडी कहिल्यै जोडिँदैन कसरी असत्य सावित हुन्थ्यो । अहिले पनि प्रचण्ड-बाबुरामबीचको राजनीतिक टक्कर र एकअर्कालाई कमजोर बनाउने दाउपेच अर्को पक्षको नेतालाई सिध्याउने तहसम्मको हुने गरेको छ । एक अर्काको कमजोरी समातेर मार हान्ने खेलकै कारण केही अघिसम्म सबभन्दा बलिया ठानिएका नेता केही पछि नै गुमनामको अवस्थामा पुग्ने गरेका छन् ।
प्रसंग भट्टराईका सबभन्दा निकट गंगा श्रेष्ठ र दाहालका अत्यन्तै विश्वासपात्र राजन दाहालबीचको शक्तिसंघर्ष र यसमा भट्टराई र दाहालको प्रत्यक्ष संलग्नताको हो । भट्टराई प्रधानमन्त्री भएकै बेला सिन्धुली सदरमुकाममा वाइसिएको क्याम्प राखी जिल्लाभरका विकास निर्माण, ठेक्कापट्टा, कार्यालयका योजना, वन, जिविस, गाविस तथा यातायातमा प्रभाव छाडेका राजनको निर्देशनमा अर्को कुटपिटको घटना घट्यो । यो पनि जिल्लामा घटाइने अन्य हानमारका घटनाजस्तै राजनीतिक आवरणमा गुण्डागर्दी गरी पैसा कमाउने मेसो नै थियो । यसअघिका प्रायः घटनाबाट आफ्नो शक्तिको प्रभाव विस्तार गरी नियमित आयस्रोत बनाउन सफल राजनलाई यो घटना भने गंगाका कारण निकै भारी बन्यो ।








राजनकै क्षेत्रको कल्पवृक्ष गाविसको मर्थौलीमा बसको टिकट काट्ने काउण्टर नेपाली कांग्रेसका स्थानीय नेता तथा यातायात व्यवस्था समितिका अध्यक्ष कान्छामान तामाङको अगुवाइमा रहेको थियो । त्यहाँ एमाओवादीका दाहालपक्षीय राज्यसमिति सदस्य पाणिराज बम्जनको अगुवाइमा अर्को समिति बनाएर काउन्टर खोलियो । यस क्रममै बम्जनको नेतृत्वमा स्थानीय वाइसिएल विमर्श तामाङ (प्रख्यात) लगायतले कान्छामानलाई रामधुलाई गरे । यो खबर सुन्नासाथ सदरमुकामबाट बसमा लडाकु लिएर आकाश कल्पवृक्ष गए । तर भिरालो सडकमा अवरोध खडा गरी माओवादीले बस रोके र बसमा गएका आकाशलगायतलाई क्षतविक्षत हुनेगरी आक्रमण गरे । बस पनि खोल्सातिर पल्टाइदिए । आकाश र कान्छामानलाई ५ घन्टासम्म कब्जामा लिई खेतमा राखे ।
यसको भोलिपल्ट सदरमुकाममै राजनले एक वर्षअघि मात्र किनेका बलेरोमा चालक र अंगरक्षकलाई आकाशका मानिसले ठटाए । बलेरो पनि तोडफोड गरे । यो कुरा तत्कालीन प्रम भट्टराईका प्रमुख स्वकीय सचिव गंगासम्म पुग्यो । उनले जिल्लामा गएर आकाशसँग कुरा गरे । यता सो काण्ड पार्टीका पक्षमा हुनेगरी मिलाउने जिम्मा पनि गंगालाई दिइयो । बुझ्दै जाँदा थाहा भयो कि त्यहाँ पनि बाहूबलका भरमा अतिरिक्त पैसा असुल्ने राजनको पहलमै त्यहाँ पनि कुटपिटको घटना भएको थियो । यसपछि गंगाले आकाशसँग पनि कुरा गरे । यही घटनापछि आकाश र गंगाको सम्बन्ध राम्रो बन्यो । जिल्लामा पार्टीका कामरेडसँग मुक्का खेल्ने आकाश प्रम निवास बालुवाटारमा देखिन थाले ।
कल्पवृक्षकाण्डलाई लिएर कांग्रेस पक्षले राजन दाहाल, पाणिराज बम्जन, प्रख्यातलगायत आधा दर्जनभन्दा बढी प्रचण्डपक्षका मानिसलाई कर्तव्यज्यान र अपहरणको केसमा मुद्दा हाले । उता माओवादीले भने सार्वजनिक केसमा हाल्ने व्यवस्था भयो । सार्वजनिक मुद्दाका अभियुक्तहरू ३५ दिने म्याद गुजारेर अहिले खुल्ला छन् भने कर्तव्य ज्यानमा परेका प्रचण्डपक्षीय नेता-कार्यकर्ताविरुद्ध प्रहरीले पक्राउपुर्जी जारी गरी अदालतमै मुद्दा पेश गरेपछि उनीहरू भूमिगत भएकाछन् । धन्न प्रहरीले अदालतमा मुद्दा हाल्दा राजनको नाम छुटाइदियो र उनी भने भूमिगत हुनु परेको छैन । यसलाई आफू सदृढ हुन कांग्रेससँग मिली प्रचण्डपक्षलाई कमजोर बनाउने गंगाको रणनीतिका रुपमा हरिबोलले समेत व्याख्या गर्ने गरेका एक जिल्ला नेताले बताए ।


यसको केही समयपछि प्रचण्ड र बाबुराम जिल्लामा आए र आकाशका भाइ पुष्प प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमा प्रवेश गरे । उनको प्रवेशसँगै राजनको नेतृत्वमा चलिरहेको वाइसिएलको इन्चार्ज पुष्पलाई बनाइने खेल सुरु भएको छ । यता, सदरमुकाममै वाइसिएलका युवाहरूबाट घेरिएर बस्न र हिँड्न मन पराउने राजन अहिले हरिबोल गजुरेलको घरमा सरेका छन् ।
भट्टराई सरकारको अवसानपछि जिल्लामा गंगाको उपस्थिति बढ्नु र नवप्रवेशी पुष्पलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने पहलसँगै प्रचण्डपक्षीय नेता सदरमुकाममा कमै देखिन थालेका छन् । आफ्नो पकड खुकुलिंदै जान लागेको बुझेर नै हरिबोल गजुरेल र राजनको पहलमा प्रचण्डलाई बिना योजना र कार्यक्रम दुई दिन उनका पि्रय भोजन कुखुरा र कालिज खुवाउँदै राजनको घरसम्म पुर्याइएको बुझाई पनि जिल्लामा रहेको छ । प्रचण्ड गएको केही हप्ता नबित्दै बाबुराम पनि सिन्धुलीमा पुगिसकेका छन् ।
पार्टी कार्यालयमा कसको पकड




प्रचण्ड जिल्लामा आउँदा सदरमुकाममा कुनै सार्वजनिक कार्यक्रम गर्न नसकी लेकतिर पुर्‍याउनुपर्ने बाध्यता र पार्टीमा खुकुलिँदै गएको पकडका कारण राजन दुई हप्ताका लागि भारत गए । तर, यही बेला जिल्ला प्रशासन कार्यालयछेउमै सटरमा रहेको पार्टी कार्यालय गंगाले धुरा बजारमा सारे । मासिक १३ हजार तिर्नेगरी खोलिएको नयाँ पार्टी कार्यालयमा राजनलगायत प्रचण्डपक्षले खुट्टा नराख्ने भएका छन् । बरु राजन अर्को पार्टी कार्यालय खोल्नका लागि घर खोजिरहेका छन् ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya