Widgets


RPP-Leadersहिन्दु राज्यको लाइन लिने कि धर्म निरपेक्ष राज्यको लाइन लिने? भन्ने मुद्दामा धु्वीकरण बढ्दै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी संकटमा परेको छ। आगामी जेठको पहिलो साता हुन गइरहेको राप्रपा र राजपाको एकताको पाँचौं महाधिवेशनमा हिन्दु राज्यको लाइन लिने गरी राजनीतिक प्रतिवेदन तयार गरिएको थियो।
उक्त प्रतिवेदनलाई दुवै पार्टीको संयुक्त केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्नासाथ हात हालाहालको स्थिति उत्पन्न भयो।
अनमोल क्याटरिङमा आयोजित उक्त बैठकमा हिन्दु राज्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नासाथ बालाराम घर्तीमगर, ध्रुव प्रधान र जगत गौचनबाहेक जनजाति समुदायका सबै नेताहरू पाखुरा सुर्कंदै उफ्रन थाले। ‘भारतका दलालहरू हो, करण सिंहको निर्देशनमा प्रस्ताव तयार गर्ने कि? कार्यकर्ताको सुझावअनुसार’ भन्दै बुद्धिमान तामाङ, हेमजंग गुरुङ, अर्जुन राई, तोरणबहादुर गुरुङलगायतका नेताहरू प्रतिवेदन च्यात्दै मञ्च नै कब्जा गर्ने तर्खरमा लागे। हल बाहिरसमेत मुन्द्रा लगाएका केटाहरू भारतीय दलालहरूलाई ठीक पार्ने हो भन्दै उफ्रन थालेपछि हाम्रो पार्टीभित्र पनि डलर पसेछ भन्दै अन्य नेताहरू धमाधम बाहिर निस्के। हात हालाहालको स्थिति उत्पन्न हुन लागेपछि अध्यक्षद्वय सूर्यबहादुर थापा र पशुपतिशमशेर राणाले अनिश्चितकालका लागि बैठक स्थगित गरे। विश्व हिन्दु महासंघका सदस्य बुद्धिमान तामाङ आफूलाई बौद्ध धर्मावलम्बी बताउँछन् भने पैसा चाहिँ क्रिस्चियन संस्थाबाट मासिक पाँच लाख लिने गरेको राप्रपाका कार्यकर्ताहरू बताउँछन्।
समाचार स्रोतका अनुसार उत्पन्न संकट समाधानका विषयमा छलफल गर्न शनिबार अध्यक्ष राणाको निवासमा दुवै पार्टीका शीर्ष नेताहरूबीच गोप्य छलफल भएको थियो। राजनीतिक प्रतिवेदनबाट हिन्दु शब्द हटाउने कि? महाधिवेशनमा बहुमतबाट पारित गराउने कि? अथवा क्रिस्चियनबाट डलर बुझ्नेहरूलाई पार्टीबाट निष्कासन गरी अघि बढ्ने? भन्ने तीनवटा विकल्पबारे छलफल भएको स्रोतले बतायो। तर ठोस निर्क्योल भने निस्केन। क्रिस्चियन लगानीमा खुलेका जनजाति पार्टीमा प्रवेश गर्ने आधार बनाउन पार्टीभित्र यस्तो बखेडा निकालिएको निष्कर्षमा सबै पुगे। बैठकमा हुलदंगा मच्चाउनेमध्ये बुद्धिमान तामाङबाहेक अरुलाई कारबाही गर्दा पार्टीलाई कुनै क्षति नहुने बरु फाइदै हुने तर्क बैठकमा अधिकांशले राखेका थिए।
आगामी संविधानसभाको चुनाव जित्ने हैसियतका बुद्धिमान तामाङलाई कारबाही नगर्ने र जमानत पनि जोगाउने हैसियत नभएका हेमजंग गुरुङ, अर्जुन राई, तोरण गुरुङलगायतलाई तुरुन्त पार्टीबाट निष्कासन गर्ने विषयमा अध्यक्षद्वय राणा र थापाबीच सहमति भएको स्रोतले जनाएको छ। तत्काल विद्रोह गर्ने कि? पार्टीले कारबाही गरेपछि जनजाति पार्टीमा ज्वाइन गर्ने? भन्ने विषयमा राप्रपाभित्रका जनजाति नेताहरू छलफलमा व्यस्त छन्। अशोक राईको नेतृत्वमा गठित जनजाति पार्टीमा सामेल हुने कि? डा.चैतन्य सुब्बाको नेतृत्वमा गठित जनजाति पार्टीमा सामेल हुने? भन्ने विषयमा भने मतान्तर जारी छ। बुद्धिमान चैतन्य नेतृत्वको जनजाति पार्टीमा सामेल हुनुपर्ने पक्षमा छन् भने हेमजंग, अर्जुन, तोरणलगायतका नेता चाहिँ अशोक राई नेतृत्वको जनजाति पार्टीमा सामेल हुनुपर्ने पक्षमा छन्। गणतन्त्र अंगाल्नुपर्ने लाइनमा चाहिँ लोकेन्द्रबहादुर चन्द समूहको असन्तुष्टि कायमै छ। तर उनीहरू मुठभेडमा उत्रने मनस्थितिमा छैनन्। बरु महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने रणनीतिमा चन्द समूह देखिएको छ। यो समूहमा राजेश्वर देवकोटा, धु्रव प्रधान, विक्रम पाण्डे, जगत गौचन, डा.प्रकाशचन्द्र लोहनीलगायतका नेताहरू छन्।
यसैबीच, जेठको पहिलो साता काठमाडौंमा हुन गइरहेको एकताको पाँचौ महाधिवेशनका क्रममा राप्रपाभित्र चुनावी सरगर्मी बढेको छ। अधिकांश युवाहरू केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्दै प्रचार–प्रसारमा जुटेका छन्। अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापा, लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द, जोगमेहर श्रेष्ठका छोरा सुमनमेहर श्रेष्ठ, राप्रविसंघका संस्थापक अध्यक्ष महेश्वर रोक्कालगायतका युवाहरूले आफ्नो पक्षमा लहर ल्याएका छन्। राजनीतिक गर्ने मनसाय लिएर अमेरिकाबाट आएका राजेश्वर देवकोटाका छोरा ईश्वरचन्द्र देवकोटा भने पार्टीको भविष्य देखिनँ भन्दै अमेरिका नै फर्केका छन्। पार्टीले विधान संशोधन गरी एक सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। जसमध्ये आधा मनोनीत र आधा निर्वाचत हुनेछन्। महिला, मधेसी जनजाति र अल्पसंख्यकका लागि ३० प्रतिशत आरक्षणको प्रावधान राखिएको छ। उपध्याक्ष पदमा पनि महिला, मधेसी र जनजातिबाट तीनजना र खुलाबाट दुईजना निर्वाचित हुने प्रावधान विधानमा राख्ने तयारी भएको छ।
मिति नजिकिँदै गर्दासमेत महाधिवेशनबारे कुनै प्रचार–प्रसार भने गरिएको छैन। महामन्त्री दिपक बोहराले भुवन पाठकलाई केन्द्रीय प्रचार समितिको संयोजक बनाएका छन्। तर बजेटका बारे बखेडा उत्पन्न भएको छ। पाठकले ७० लाख बजेट माग गरेका छन्। १५ लाखभन्दा बढी अध्यक्ष राणा तयार छैनन्।

-विक्लीनेपाल





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya