- Back to Home »
- 'श्रीमानको मृत्यु हुँदा स्वतन्त्र भएजस्तो लाग्यो'

Posted By : Govinda Baniya
मानिसले आफ्नो जीवनमा धेरै पटक गल्ती गर्न सक्छ। यद्यपि विज्ञहरू भन्छन्, गल्ती गर्नु ठूलो कुरा होइन, गल्ती नसच्याउनुचाहिँ ठूलो गल्ती हो। रोशनी बानियाँ त्यस्ती महिला हुन्, जसले आफूले गरेको गल्ती सच्याउनु नै जीवनको उद्देश्य मानिन्। उनको त्यही उद्देश्य अहिले नेपाली महिलाका लागि नयाँ मार्ग कोर्ने अभियान बनेको छ। रोशनी समाजका मान्यता लत्याउँदै पुनर्विवाह गर्ने थोरै महिलामध्ये एक हुन्। एकपटक विवाह असफल हुने वा उमेर छँदै विधवा हुने महिलाहरूले पुनः विवाह गर्नुपर्छ भन्ने उनको मुख्य अभियान हो। यही मान्यतामा रहेर हुर्किसकेका छोरा-छोरीलाई उनले आफ्नो ब्वाइफ्रेन्डसँग परिचय गराइन्। माइती मात्र होइन, घरका सासू-नन्दलाई साक्षी राखेर आफ्नो ब्वाइफ्रेन्डसँग विवाह गरिन्। आफन्त बोलाएर भव्य भोज दिइन् र एकपटक विवाह असफल हुने बित्तिकै चुप लागेर बस्नु हुँदैन, आवश्यकता भए दोस्रो वा तेस्रो विवाह गर्नुपर्छ भन्ने अभियानको उद्घोष गरिन्। वैशाख १ गते उनले विवाह गरेको दोस्रो वर्ष लाग्दैछ। उनको पुनर्विवाह अभियानको वाषिर्कोत्सवको पूर्वसन्ध्यामा अश्विनी कोइरालाले रोशनीसँग लामो कुराकानी गरेको थियो।
तपाईंले आफ्नो विवाह समारोहमा पुनर्विवाह अभि यानको घोषणा गर्नुभएको थियो, यस्तो घोषणा किन गर्नुपर्यो ?
मानिसले नबुझेरै कहिलेकाहीँ गल्ती गर्दो रहेछ। मैले पनि त्यस्तै गल्ती गरें। यस्तो गल्ती गर्नेहरू धेरै हुन सक्छन्। त्यसलाई सच्याउनुपर्छ र अरूलाई पनि प्रेरणा दिनुपर्छ भन्ने लाग्यो।
तपाईंले गरेको त्यस्तो गम्भीर गल्ती के थियो ?
म सम्पन्न एवं राम्रो इज्जत भएकी घरकी एक्ली छोरी हुँ। १० कक्षा पढ्दा पढ्दै आफूभन्दा नौ वर्ष जेठो युवकसँग प्रेम गरें र तुरुन्तै भागेर विवाह गरें। त्यो गम्भीर गल्ती थियो।
प्रेम गर्नु गल्ती हो र ?
१६ वर्षको उमेरमा मेरो स्कुलअघि एउटा युवक चुरोट तान्दै मलाई गहिरिएर हेथ्र्यो। उसको चुरोट तान्ने शैली मलाई कुनै हिन्दी चलचित्रको नायकको जस्तै लाग्यो। उसले फिल्मी शैलीमै प्रेम प्रस्ताव राख्यो। मैले त्यसैलाई साँचो प्रेम मानें। विवाहपछि जीवन स्वणिर्म हुन्छ भन्ने कल्पना गरें तर विवाह त कल्पना गरेजस्तो हुँदो रहेनछ। प्रेम त विवाहअघि र पछि उस्तै हुनुपर्छ, मेरो त्यस्तो भएन।
युवकको कमजोरी के रहेछ ?
ऊ बुबा नभएको बिगि्रएको युवक रहेछ। गलत साथीहरूको संगतमा नपढ्ने, जागिर पनि नखाने अल्लारे भएर हिँड्ने बानी परेको मानिस रहेछ। विवाहपछि पनि उसको त्यो शैलीमा कुनै परिवर्तन आएन। विवाह भएको १४ वर्षमा मैले ऊबाट कहिल्यै कुनै उपहार पाइन, ऊसँग कतै घुम्न पनि पाइनँ। दुई सन्तानका लागि उसले दिएको वीर्यबाहेक मसँग प्रेमको कुनै सम्बन्ध रहेन। हुन त मैले प्रेम गरेकी थिएँ, ऊ पनि प्रेम गर्छु नै भन्थ्यो, तर उसले आफ्नो व्यवहारमा कुनै परिवर्तन ल्याएन। एउटी महिला प्रेमका लागि सबथोक त्याग गर्छे, लोग्ने मानिसले पुरानो केही त्याग नगरी प्रेम गर्छुभन्दा मैले कसरी विश्वास गर्नु ?
यस्तो अवस्थामा पनि १४ वर्ष सम्बन्ध रह्यो, कसरी ?
भित्र मैले दुःख पाइरहेकी थिएँ, तर म दुःखी छु भनेर बाहिर भन्न सक्ने अवस्था थिएन। फेरि म त प्रेम गरेपछि त्यो प्रेम निर्वाह गर्नुपर्छ भन्ने मान्यता राख्थें। दुई सन्तान थिए, उनीहरूलाई छाडेर जान सक्दिनथेँ। घरमा सासू हुनुहुन्थ्यो, उहाँ आधुनिक र मेरो समस्या केही बुझ्ने किसिमकी हुनुहुन्थ्यो। सायद उहाँलाई विवाह गरेपछि छोरा सुध्रन्छ भन्ने लागेको थियो होला, तर त्यो नभएपछि मलाई केही सपोर्ट थियो। उहाँले नै मलाई खर्च दिनुहुन्थ्यो। छोराछोरीको मुख हेरेर लामो समय टिकें। म बुबाकी प्यारी छोरी थिएँ, उहाँ मेरो निर्णयबाट दुःखी हुनुहुन्थ्यो, उहाँका अघि पनि म असफल भएँ भनेर भन्न सक्ने अवस्थामा थिइन्।
कुन बेला लाग्यो, जुन गल्ती भयो, त्यसलाई सच्याउनुपर्छ?
एसएलसी पनि नदिई उसको घरमा छिरेकी थिएँ। त्यो घर निकै ठूलो परिवार भएको काठमाडौंको परम्परागत क्षेत्रीको घर थियो। घरमा आफ्नो थाल पनि नमाझ्ने केटी यहाँ ठूला-ठूला डेक्चीमा खाना बनाउने, दिनभरि लुगा धुने काम गर्नुपरेपछि म झस्किए। अब न प्रेम रह्यो न पढाइ। मैले पढ्नुपर्छ भन्ने लागेर बुवालाई भनें। घरमा विद्रोह गरेर आठ वर्षपछि माइती आएँ, हेटौंडा। दुई महिना बसेर एससलसी दिएँ, यो गल्ती सच्याउने पहिलो हिम्मत थियो।
त्यसपछि ?
रक्सीका कारण श्रीमान् बिरामी हुन थाले। श्रीमती भएपछि कारण प्लस टु पढ्ने इच्छा भए पनि उपचार गर्नतिर लागें। लामो समय उपचार गरेर केही ठीक पारें। चार वर्षपछि फेरि प्लस टुको परीक्षा दिन हेटौंडा गए। प्लस टु सकेपछि जागिर खोज्न निस्किएँ। भाग्यले साथ दियो र रोयल सिंगे होटलमा रिसेप्सनिस्ट भएँ। लगत्तै पशुपति क्याम्पस चाबहिलमा स्नातक पढ्न थाले। बिहान कलेज पढ्न जान्थें, दिउँसो जागिर खान्थे र साँझ रोगी श्रीमान्को सेवा गर्थें। यद्यपि परिवारभित्र यसरी हिँडेको मन पराउन छाडेका थिए। जीवन साह्रै अप्ठयारो गरी बित्न थालेको थियो।
यो अवस्था कति समयसम्म रह्यो ?
स्नातक दोस्रो वर्ष अध्ययन गर्ने क्रममा रक्सीकै कारण श्रीमान्को मृत्यु भयो। लाग्यो, म अचानक स्वतन्त्र भएँ।
श्रीमान् खस्दा खुसी हुनुभयो ?
खुशी त नभनौं, स्वतन्त्र भएँ जस्तो लाग्यो। त्यो बेला म यति दुब्ली थिएँ कि ठूलो हावा आए उडाउँछ कि जस्तो लाग्थ्यो। छिमेकी सजना पौडेल भन्थिन्, 'तिम्रो दुःख देख्दा संसारमा ईश्वर छन् भन्ने पनि मलाई विश्वास लाग्दैन।' त्यस्तो अवस्थाबाट मैले अचानक मुक्ति पाएँ भन्ने लाग्यो।
त्यसपछि के गर्नुभयो ?
एक जना मेरा शुभचिन्तक थिए, कर्मा गुरुङ। उनी पनि मेरो दुःख र संघर्षबाट परिचित थिए। मेरो श्रीमान्को मृत्युलगत्तै उनले प्रेमप्रस्ताव राखे। मैले छोरा-छोरीलाई साक्षी राखेर उनलाई ब्वाइप|mेन्ड स्वीकार गरें। हिजो प्रेमलाई गलत रूपमा बुझ्दा मेरो त्यो गति भएको थियो, आज त्यही प्रेमलाई जीवन जिउने आधार बनाउने निर्णय गरें। उनलाई सबै कुरा बताएँ र आफू अनुकूल बनाएँ। यसरी पुराना गल्ती सच्याउँदै लगे।
तपाईंहरूबीच प्रेम भएको तीन-चार वर्ष बित्दा पनि विवाह गर्नुभएन, किन होला ?
म लोग्नेमानिसजस्तो श्रीमती खसेको १३ दिनमै विवाह गरेर बद्नामी कमाउन चाहन्नथेँ। फेरि यो प्रेमको परीक्षाको बेला थियो। उनका दुई छोरी र डिभोर्स भएकी श्रीमती थिइन्। उनीहरूसँग सम्पर्क गरेर वास्तविकता बुझ्नु थियो। अनि अर्को कुरा एउटा विवाहले दिएको धक्काले मेरो माइती अहिलेसम्म हल्लिएकै थियो, फेरि अर्को प्रेमविवाह ? उहाँहरूले मेरा बारेमा के सोच्नुहोला भन्ने पनि लागिरहेको थियो।
कुन कुराले विवाह गर्ने आँट दियो ?
म ठूलो अन्तरद्वन्द्वमा थिएँ। ठीक त्यही बेला चर्चित कलाकार हरिवंश आचार्यले आफूजस्तै दुःखी महिलासँग विवाह गर्नुभयो। त्यसलगत्तै चर्चित साहित्यकार कृष्ण धरावासीले पारपाचुके गरेकी महिलासँग विवाह गर्नुभयो। मिडियाले त्यसको सकारात्मक प्रचार गरेका कारण हामीजस्तालाई आँट मिल्यो। मैले उहाँहरूलाई नेता माने र विवाह गरें। त्यही बेला मैले मजस्तै अन्तरद्वन्द्वमा रहेका महिलालाई हौसला पनि दिनुपर्छ भन्ने निर्णय गरें।
उहाँहरूलाई भेटेर धन्यवाद दिनुभयो ?
छैन, तर हामीजस्ता व्यक्तिका नेता उहाँहरू नै हुनुहुन्छ। हरेक दिन मनमनै उहाँहरूलाई धन्यवाद दिन्छु।
आजको तपाईंको अवस्था के छ ?
छोरा-छोरी मेरो श्रीमान्लाई पप्स भनेर बोलाउँछन्। उनी पनि छोराछोरीलाई आफ्ना जस्तै माया गर्छन्। उनका दुई छोरीहरू आमासँगै अमेरिकामा छन्, तर नेपाल आएका बेला दुवै जना मेरा छोराछोरीलाई आफ्नै भाइबैनी मान्छन्, मिलेर बस्छन्। मैले मेरो पुरानो घरबाट एक रुपैयाँ पनि नलिई निस्किएकी छु। अंश आयो भने पनि छोराछोरीले नै पाउने व्यवस्था मिलाएकी छु। नयाँ श्रीमान्को पुरानो सम्पत्ति पनि छाड्न लगाएर नयाँ डेरामा बसेका छौं। उनी क्युरियोको व्यापार गर्छन्, म रिसेप्सनिस्टको जागिर खान्छु। दुवैको आम्दानीले मात्र बाँच्ने प्रण गरेका छौं।
दुवैको उमेर ४० वर्षभन्दा कमै देखिन्छ, नयाँ सन्तानका बारेमा कुनै योजना बनाउनुभएको छ ?
उनले पनि राम्रोसँग नबुझी विवाह गर्दा ठूलो दुःख पाए, आखिरमा छुट्टनिुपर्यो। मेरो कथामा त चलचित्र बनाउँदा पनि हुन्छ। अबको समय भनेको शुद्ध प्रेम गर्ने मात्र हो, दुवैका लागि। कमाएको पैसाले संसार घुम्ने हो। चाहेजस्तो खान नपाएर, लगाउन नपाएर वषौं-वर्ष बिते। अब ती इच्छा पूरा गर्ने हो। यसै पनि संसारमा ७ अर्ब मानिस छन्, अब किन सन्तान जन्माउनु ?
पुनर्विवाहको अभियान अघि बढाउने योजनाचाहिँ कहाँ पुग्यो ?
मैले सानैमा पढेको थिएँ, अधिकार मागेर होइन, खोसेर लिनुपर्छ। यसको अर्थ जबरजस्ती होइन, मैले जस्तै संघर्ष गरेर, अरुहरूलाई कन्भिन्स गरेर लिनुपर्छ। मैले ठूलो काम गरिरहेकीछु भनेर मानेकी छैन। तर मेरो आफ्नो तर्फबाट अभियान चलाउने, यसमा अरूलाई सामेल गराएर अघि बढ्ने योजनामा छु। दुई जना महिलाको विवाह गर्ने वातावरण मिलाइदिएँ। पहिले त पुनर्विवाह गरेर खुसी हुन सकिन्छ भनेर आफूले उदाहरण दिन सक्नुपर्छ। नत्र यो अभियान असफल हुन सक्छ। आफू खुसी नभै मानिसले अरूलाई खुसी दिन सक्दैन, अहिले हामी आफू खुसी हुने बाटोमा छौं।
comments powered by Disqus
Post a Comment