Widgets

Posted By : Govinda Baniya


२० बैशाख, काठमाडौ । एकदर्जन भन्दा बढिले आफूलाई भारतीय दूतावासको प्रतिनिधि दावी गर्दै अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटने समय मागेपछि प्रधानमन्त्री निवास बालुवाटार तनावमा परेको छ ।
आफूलाई दक्षिणको आधिकारीक प्रतिनिधि दावी गर्दै रेग्मीसँग भेटको लागि समय मिलाउन भन्नेको भीड बढेपछि असली दूत को भन्नेमा बालुवाटार आफै अन्यौलमा परेको छ । आफूलाई लैनचौरको ‘असली प्रतिनिधि’ दावी गर्नेमा समाजमा स्थापित र प्रतिष्ठित नाम समेत छन् ।
सरकारका कामकार्वाहीको सूचना थाहा पाउनु ‘भाडाका दूत’हरूको मुख्य उदेश्य हो । यसैगरी आफू अनुकुलका व्यक्तिलाई नियुक्ति, भारतीय लगानीका कम्पनीको सुरक्षा लगायत अनेकन स्वार्थ लिएर ‘विशेष दूत’हरू बालुवाटार धाउने गरेका छन् ।
आफूलाई लैनचौरको खास दूत दावी गर्नेमा एकजना पूर्ववर्ती सरकारका ४९ जना मन्त्री मध्ये एक रहेका विश्वस्त सुत्रले बतायो । केही पूर्व सांसद, राजनीतक दलका नेता, जेएनयुमा पढेका विद्यार्थी र दुइ जना त पत्रकार नै छन् ।
एकजना डाक्टरपनि आफूलाई उताको विश्वास पात्र भन्दै रेग्मीलाई भेटन बिन्ती पत्र चढाएका छन् । परराष्ट्रमन्त्री माधव घिमिरेलाई पनि यो गिरोहले सताइरहेको छ । ‘समाजमा स्थापित व्यक्तिले समेत हामी उताको मान्छे भनेर भेटन समय मिलाउन आउँछन्, घिमिरे निकट स्रोतले भन्यो, 'स्थापित व्यक्तिले आफूहरूलाई उताको दूत भनेर भन्दा हामीलाई लज्जाबोध भएको छ ।’
यसरी आफूलाई भारतीय दूत भनेर आउने कतिपय भने ठग हुन्, मन्त्रीसँग रवाफ देखाउन उनीहरूले आफूलाई भारतको विश्वासपात्र भनेर चिनाउन खोज्छन् । यसोगर्दा उनीहरूले मन्त्रालयबाट फाइदा लिने गरेका छन् । ‘एकजना साप्ताहिकका सम्पादकले आफूलाई दूतावासको नाम लिएर आउँथे', गृहमन्त्रालयका एकजना वरिष्ठ अधिकारी भन्छन्, 'पछि हामीले बुझ्दै जादा ऊ दुतावासको होइन रहेछ, केवल व्यक्तिगत स्वार्थका लागि मात्र दुतावासको नाम भजाएको ।’
सरकार वा राजनीतिक दलसँग भारतीय राजदूतको सिधा पहुँच भएपनि खुफिया एजेन्सीले सूचना संकलनको लागि सरकारसँग पहुँच भएका व्यक्तिलाई आफ्नो सम्पर्क सुत्र बनाएको छ । राष्ट्रिय अनुसन्धान विभाग स्रोतका अनुसार नेपाली सेना, नेपाल प्रहरी, राजनीतिक दल र पत्रकार समेत गोप्य सूचना दिएर व्यक्तिगत फाइदा लिइरहेका छन् ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya