Widgets


Lila-Mani-Poudel-Chief-Secretary

 स्थायी सरकार मानिने मुलुकको कर्मचारी संयन्त्रको माथिल्लो निकायमा नेकपा एमालेको दह्रो पकड देखिएको छ। नेपाल सरकारका करिब साढे दुई दर्जन सचिवमध्ये आधाभन्दा बढी एमाले निकट छन्।
२०५९ सालदेखि सत्तामा जानुलाई नै मुख्य एजेन्डा बनाएका कारण एमालेले कर्मचारी संयन्त्रको माथिल्लो निकायमा दह्रो पकड जमाउन सफल भएको बताइन्छ। २०६१ सालदेखि कहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा, कहिले गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा र कहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी एमालेले यस बीचमा पार्टी अध्यक्ष झलनाथ खनाल र पार्टी नेता माधव नेपालको नेतृत्वमा दुईपटक सरकार गठन गरेको थियो। सत्तामा मात्रै केन्द्रित भएको आरोप बेहोरे पनि कर्मचारी संयन्त्रमा पकड राख्नसक्नुलाई एमालेको ठूलै सफलता मानिएको छ।
कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनाल, श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, पर्यटन मन्त्रालयका सचिव सुशील घिमिरे, गृह मन्त्रालयका सचिव नवीन घिमिरे, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव केशव भट्टराई, सिँचाइ मन्त्रालयका सचिव प्रतापकुमार पाठक, रक्षा मन्त्रालयका सचिव तिलकराम शर्मा, भौतिक पूर्वाधार योजना मन्त्रालयका सचिव तुलसी सिटौला, शान्ति मन्त्रालयका सचिव धु्रव शर्मा, सामान्य प्रशासन मन्त्रालयका सचिव दुर्गानिधि शर्मा, वन मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव सूर्य सिलवाल, राष्ट्रपति कार्यालयका सचिव शीतलबाबु रेग्मीलगायत करिब दुई दर्जन सचिवहरू एमालेलाई मासिक रूपमा लेबी बुझाउने स्तरकै कार्यकर्ता हुन्।
त्यसो त सत्तामा सामेल भएको सात वर्षको छोटो अवधिमा एमाओवादीले पनि कर्मचारी संयन्त्रको माथिल्लो निकायमा दह्रै पकड राख्न सफल भएको छ। मुख्यसचिव लीलामणि पौडेल, ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइराला, अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव गणेश जोशी, स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, वाणिज्य मन्त्रालयका सचिव लालमणि जोशी र प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटा एमाओवादी निकट मानिन्छन्। महिला तथा बालबालिका मन्त्रालयका सचिव दिनेशहरि अधिकारी पनि प्रजातन्त्रिक कित्ताकै मानिन्छन्। तर नेपाली कांग्रेसले भने पछिल्लो समयमा आफ्नो पकड गुमाएको छ। नेपाली कांग्रेस निकट सचिवहरू जम्मा दुईजना मात्रै छन्। जसमध्ये विश्वप्रकाश पण्डित ऊर्जा आयोगमा थन्किएका छन् भने कृष्ण ज्ञवाली उद्योग मन्त्रालयमा छन्।
जुन पार्टी सत्तामा आउँछ, उसैको पछि लाग्ने सचिवहरूको पनि नेपालको कर्मचारी संयन्त्रमा कमी छैन। परराष्ट्र मन्त्रालयका सचिव दुर्गाप्रसाद भट्टराई, प्रधानमन्त्री कार्यालयका सचिव धरणीधर खतिवडा, सहरी विकास मन्त्रालयका सचिव किशोर थापा, राष्ट्रिय सतर्कता केन्द्रका सचिव शीतलबाबु रेग्मी, स्वास्थ्य मन्त्रालयका सचिव प्रवीण मिश्र, उपराष्ट्रपति कार्यालयका सचिव नात्थु चौधरी र नेपाल ट्रस्टका सचिव श्रीधर गौतम यस क्षेणीमा पर्दछन्।


-विक्ली नेपाल 





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya