Widgets


dahal

Posted By : Govinda Baniya

काठमाडौं। संविधानसभाको नयाँ चुनाव मंसिरमा भइहाल्यो भने पनि आफ्ना लागि चुनौतीपूर्ण हुने देखेपछि एमाओवादीले अझै प्रशासनिक दुरुपयोगबाट चुनाव जित्न सकिन्छ कि भन्ने अन्तिम कसरत गरिरहेको छ। पूर्ववर्ती बाबुराम भट्टराई नेतत्वको सरकारले चुनाव प्रभावित गर्नेगरी कर्मचारी र सुरक्षा निकायमा गरेको भर्ती कायम राखेर चुनावमा जानुपर्ने अडान उसले उच्चस्तरीय राजनीतिक समितिमा राखेको छ। आइतवार नयाँ बानेश्वरमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा कांग्रेस र एमालेले पूर्ववर्ती सरकारले गरेका नियुक्तिहरु बदर गरेर चुनाव घोषणा गर्न प्रस्ताव राखेका थिए भने एमाओवादीले त्यसलाई बदर नगर्न कडा अडान प्रस्तुत गरेको थियो। सकेसम्म मंसिरसम्म चुनावै गर्न नदिने एमाओवादीको मनसाय त्यो बैठकमा पनि ब्यक्त भएको थियो। मंसिरमा चुनाव हुन नसके खिलराज रेग्मीको नेतृत्वमा बनेको सरकारको औचित्य पनि समाप्त हुने र त्यसपछि सरकारको नेतृत्व आफूले गर्न छिमेकी देशहरुको भ्रमणमा वातावरण मिलाउन आफू लागेको दाहालले बुधवार आफू निकटका नेताहरुसँग ब्रिफिङ पनि गरेका छन्। भर्खरै चीन भ्रमण सकेर फर्केका उनी भारत भ्रमणको तयारीमा छन्। दाहालले चीन भ्रमणमा गएर विकासमा त्रिदेशीय साझेदारीको कुरा उठाएका थिए। र चीन जानुअघि उनी तीन पटक लगातार भारतीय राजदूत जयन्तप्रसादसँग भेटघाटमा थिए। एक अर्काका विरुद्ध लडाउने खेलबाटै अहिलेेसम्म शक्ति आर्जन गर्दै आएका दाहाललाई राष्ट्रिय स्वार्थको चासो पनि छैन। बरु कसरी एकअर्कालाई झुक्याउने र त्यसबाट फाइदा लिने भन्ने उनको रणनीति देखिन्छ। उनको अहिलेको चीन र भारत दौडाह चुनावका पक्षमा छिमेकीको सद्भाव खोज्न भनेर प्रचार गरिए पनि रेग्मी सरकारलाई चुनाव गर्न नदिई असफल पार्ने र त्यसपछिको सरकारको नेतृत्व आफूले गर्ने दिशामा केन्द्रित छ।
अहिलेको अवस्थामा चुनाव गरे पार्टी विभाजित छ र दुई दुईवटा सरकारवाट चरम अलोकप्रियता हाशील गरेर फर्केको उनको अनुभव छ। यसैले गर्दा चुनावी सरकारको नेतृत्व आफैंले गर्ने र त्यसवेलासम्म फुटेर गएको बैद्य पक्षलाई पार्टीमा फर्काउन सकिन्छ कि भन्ने मनोदशा पनि उनको छ। यसै रणनीतिलाई सफल पार्न चुनाव घोषणा गर्न नसकेको दोष सरकारमाथि लगाउँदै दाहालले अल्मल्याउने अनौठा अनौठा प्रस्तावहरु उच्चस्तरीय समितिका बैठकहरुमा राख्ने गरेका छन्। यसअघि नै असारमा चुनाव नभए मंसिरमा चुनाव हुनै नदिने उद्घोष गरेका दाहालले आइतवार भएको उच्चस्तरीय समितिको बैठकमा चुनाव दुई चरणमा गर्ने प्रस्ताव अघि सारे। सरकारलाई छिटो चुनावको मिति तोक्न सघाउन बसेको बैठकमा दाहालले दुई चरणमा चुनावको कुरा उठाएपछि आइतवारै त्यसमा छिनोफानो हुन सकेन। शुक्रवारका लागि अर्काे बैठक बस्ने भन्दै
उच्चस्तरीय समितिको बैठक पनि सकियो। यो उनको अल्मल्याउने काइदा अन्तर्गत नै प्रसतुत गरिएको थियो।
चुनावको वातावरण बनाउन भन्दै आइतवार उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेको थियो। चुनावको मिति, विपक्षमा रहेका दलहरुलाई चुनावमा सहभागिता गराउने र चुनावका लागि वातावरण निर्माण गर्ने लगायतका विषयमा उनीहरुवीच छलफल भएको थियो। विपक्षमा रहेका दलहरुसँग झुकेर चुनावको वातावरण बनाउन लाग्नुको साटो उनीहरुलाई पेलेर अघि बढ्ने संकेत दाहालले गरेका थिए। यसको मतलव मंसिरमा चुनाव हुन नदिन बैद्यहरुलाई उत्तैजित पार्ने काम पनि उनी आफैंले गरिरहेका छन्। तर, आइतवार बसेको सो बैठकले एकै दिन गर्ने वा दुई दिन चुनाव गर्ने भन्नेमा टुंगो नलगाए पनि मंसिर पहिलो सातासम्म चुनाव गरिसक्नु पर्ने निर्णय गरेका थिए। त्यसका लागि मतदाता नामावली संकलन लगायत काममा निर्वाचन आयोग र सरकारलाई सघाउन कार्यकर्ता परिचालन गर्ने निर्णय गरेका थिए। दाहालले पेलेर जाने मनसाय ब्यक्त गरेपछि उनीहरु कार्यकर्ता परिचालनको निर्णयमा पुगेको स्रोतले वताएको छ। ‘चुनाव एकै दिन गर्ने कि दुई दिन गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो, आगामी बैठकले त्यसको टुंगो लगाउँछ’ बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले भनेका थिए।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya