Widgets

Posted By : Govinda Baniya

काठमाडौं। गलत नेतृत्व र सरकारी बेवास्ताले संकटमा पर्दै गएको राष्ट्रिय समाचार समितिमा अहिले स्पष्टीकरण आतंक छाएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चीन भ्रमणबाट स्वदेश फर्किंदा विशेष बुलेटिन ननिकालेको भन्दै अध्यक्ष कोमलनाथ बरालले सम्पादक सरला संग्रौलासँग स्पष्टीकरण लिन निर्देशन दिएपछि अहिले त्यहाँ खैलाबैला मच्चिएको छ।
स्रोतका अनुसार राति १० बजे दाहाल स्वदेश फर्किने कार्यक्रम रहेकोमा बरालले चाकडीका लागि १० नबज्दै ‘आज राससको विशेष बुलेटिन आउँदै छ’ भनेर ग्राहकहरूकोमा खबर पठाउन र त्यहीअनुसार बुलेटिन निकाल्न निर्देशन दिएका थिए। तर, साढे १० बजेसम्म राससले नियमित बुलेटिन निकाल्ने भएकाले त्यसैमा समाचार कभर हुने हुँदा विशेष बुलेटिन निकाल्न नपर्ने निष्कर्षसहित नियमित बुलेटिनबाटै दाहालको समाचार पठाइएको थियो। तर, अध्यक्ष बरालले भने विशेष बुलेटिन किन ननिकालेको भन्दै दशौं तहकी सम्पादक संग्रौलासँग तुरुन्त स्पष्टीकरण लिनका लागि प्रधान
सम्पादक श्रीरामसिंह बस्नेतलाई निर्देशन दिएका थिए। तर, बस्नेतले आफू प्रधान सम्पादक भए पनि दशौं तहकै भएकाले स्पष्टीकरण लिन नमिल्ने भन्दै बरु राजीनामा दिने जानकारी गराएपछि बराल रन्थनिएका छन्।
यस्तै, अर्को घटना माओवादी उपाध्यक्ष बाबुराम भट्टराई सोमबार राति अस्ट्रेलियाबाट स्वदेश फर्किंदा पनि भएको छ। त्यस दिन सम्पादकहरूले हाम्रा लागि सबै भूपू प्रधानमन्त्री एउटै हुनहुन्छ, उहाँ राति १२ बजे आउँदै हुनुहुन्छ, नियमित बुलेटिनबाट समाचार कभर गर्न सकिँदैन, विशेष बुलेटिन निकालौं’ भन्दा बरालले ‘पर्र्दैन, फर्किंदै हुनुहुन्छ’ भनेर एक लाइन दिए हुन्छ भनेका थिए। स्मरण रहोस्, माओवादीभित्र विवाद हुँदा जनादेशको सम्पादकबाट भट्टराईले उनलाई थाहै नदिई निष्कासन गरेका थिए।
यसैबीच, अध्यक्ष बरालले बुधबारको दिन बिहानै घरबाट कार्यालयमा आफ्ना पीए रामचन्द्रलाई फोन गरी कार्यालयमा अरू पत्रिकासँगै आएको बुधबार साप्ताहिक तुरुन्त गायब पार्न निर्देशन दिने गरेका छन्।
आज मजदुर दिवस
काठमाडौं। आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको नारा लिएर सुरु भएको अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर मजदुर दिवस मनाइँदै छ। १ सय २४औं उक्त दिवस नेपालमा पनि मजदुरहरूले देशव्यापी रूपमा मनाउँदै छन्।
मजदुर आन्दोलनको नेता संगठन नेपाल टे्रड युनियन महासंघ (जिफन्ट)ले देशव्यापी सभा गरी मजदुर दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। जिफन्टले आज १० प्रमुख सहरमा मजदुरहरूका बीचमा बृहत् सभा गर्न लागेको छ। सो सभामा नेकपा (एमाले)का प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। अध्यक्ष झलनाथ खनालले झापा, वरिष्ठ नेता माधवकुमार नेपालले विराटनगर र स्थायी समिति सदस्य केपी शर्मा ओलीले काठमाडौंमा आयोजना हुने सभालाई सम्बोधन गर्दै हुनुहुन्छ। काठमाडौंको खुलामञ्चमा दिउँसो
एक बजे सुरु हुने सभाअघि मजदुरहरूको र्या ली बिहान ११ बजे सहिदगेटबाट सुरु हुनेछ। सो र्‍याली सहिदगेटबाट न्युरोड, असन, रत्नपार्क हुँदै खुलामञ्च छिर्नेछ।
‘परिवर्तन: श्रमशक्तिको विकासबाट’ नाराका साथ मनाउन लागिएको कार्यक्रममा उपाध्यक्ष वामदेव गौतमले पोखरा, सचिवत्रय विष्णु पौडेलले बुटवल, शंकर पोखरेलले हेटौंडा, युवराज ज्ञवालीले धनगढी, जिफन्टका पूर्वअध्यक्ष तथा एमाले पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले सिमरा तथा अर्का सदस्य धर्मनाथप्रसाद साहले राजविराजमा सम्बोधन गर्ने बताइएको छ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya