- Back to Home »
- कांग्रेसमा कोइरालाभन्दा सिटौला शक्तिशाली
गाईले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले गाई हल्लायो भने कस्तो हविगत होला? झट्ट त्यसको जबाफ दिन पनि गाह्रो पर्ने देखिन्छ तर नेपाली कांग्रेसको हकमा त्यस्तै देखिन थालेको छ। कांंग्रेसमा सभापति सुशील कोइरालाभन्दा मनोनीत महामन्त्री कृष्णप्रसाद सिटौला शक्तिशाली देखिन थालेका छन्।
कांग्रेसको मर्यादाक्रमअनुसार सिटौला पाँचौं स्थानमा पर्ने व्यक्ति हुन्। उनीभन्दा अघि सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, निर्वाचित महामन्त्री प्रकाशमान सिंह वरियताक्रममा रहेका व्यक्ति हुन्। यसरी सिटौलाभन्दा तीन जना वरिष्ठ पदाधिकारी हुँदाहुँदै सभापति उनै कनिष्ठ सिटौलाको इसारामा चल्ने गरेको आरोप लाग्न थालेको छ। कोइराला अहिले सिटौलाको सुझाव र सल्लाहविना कामै गर्न नसक्ने अवस्थामा पुग्नुभएको पो हो कि भनी कार्यकर्ता पंतिबाट आलोचना हुन थालेको छ।
कांग्रेसको महाधिवेशनमा सिटौलालाई कांग्रेसीले केन्द्रीय सदस्यमा १५ औं स्थानमा जिताएका थिए। कांग्रेसमा सिटौला उतिसारो कार्यकर्ताबाट रुचाइएका व्यक्तिमा पर्दैनन्। कार्यकर्ताभन्दा पनि भारतीयको दबाबले कांग्रेसमा आफ्नो स्थान दह्रो बनाउँदै गएका सिटौलाको कुमाइको घुमाइमा कोइराला परेको भनी कार्यकर्ताहरुले आलोचना गर्ने गरेका छन्। जनाधार खासै नभएका सिटौलाले महामन्त्रीमा मनोनीत हुन पनि भारतीयहरुकै दबाब दिएका थिए पनि त्यतिबेलै चर्चामा आएको विषय हो।
जनमत नभएका भन्ने आरोपलाई सिटौलाले नरुचाए पनि उनी गृहमन्त्री भएको अवस्थामा भएको संविधानसभाको निर्वाचनमा उनले कांग्रेसलाई जिताउन पहल गर्नु त कता हो कता आफैं नै हारेर आफ्नो वास्तविकता पस्किएका थिए। यतिबेला भारतीय आशीर्वाद र समर्थन प्राप्त गर्ने नेताहरुको अग्रपंतिमा सिटौला पर्ने गरेका छन्। उनीपछि मात्र अमरेशकुमार सिंहले विचौलियाको काम गर्ने गरेको चर्चा छ। सिटौलाले कांग्रेसको स्वार्थलाई भन्दा पनि आफ्नो र एकीकृत माओवादीको स्वार्थलाई ध्यान दिने गरेको आरोप छ। उनले परेको बेला सभापति कोइरालालाई हप्काउने, विदेशीको आडमा तर्साउनेसम्मका कार्य गर्ने गरेका भुक्तभोगीहरु बताउँछन्। काइते स्वभावका सिटौलाले कोइरालाको सोझोपनको फाइदा लिंदै कांग्रेसलाई भड्खालोमा हाल्ने कर्म गरिरहेको आरोप छ। सिटौला हरेक विहान कोइराला निवासमा पुगेको देख्दा उनले सभापति कोइरालालाई सहयोग गरिरहेको ठान्नेहरुको संख्या बढी भए पनि उनी वास्तवमा भने कोइरालाका हरेक गतिविधिलाई आफ्नो नियन्त्रणमा पार्न जाने गरेको वास्तविकता हो।
comments powered by Disqus


Post a Comment