- Back to Home »
- किन हेप्छ काठमाडौंले ?
'आफ्नै परिचयमाथि शंका'
आफ्नो देशको राजधानी पनि कसैका लागि परदेश हुनसक्छ र ? अथवा आफ्नैले परदेशीको व्यवहार गर्न सक्छन् ? तर केही नेपाली यस्ता छन् जो आफ्नो ठाउँ छाडेर राजधानी छिर्दा आफु विदेशीएको अनुभव गर्छन्, दुरीका हिसावले टाढा भएर होइन । व्यवहार टाढाको भएपछि जीवन गुजाराका लागि राजधानी काठमाडौ छिरेका केही नागरिक स्वदेशमै विदेशी बन्नुको पीडामा छन् ।
'आलु, काउली, गोलभेडा.......' 'केरा, स्याउ,अनार.........' काठमाडौं उपत्यकाका गल्ली गल्लीमा दिनैपिच्छे एउटै वर्ण र उस्तै समुहका मानिसहरु यस्तै आवाजमा एकनास दौडिरहेका भेटिन्छन् । साइकलभरी बोकेर तरकारी फलफूल बेच्नु र वरिपरी बोरा झुन्ड्याएर सामान बटुल्न घरघरमा पुग्नु उनीहरुको दिनचर्या हो । नेपालको मधेस क्षेत्रबाट कामका लागि काठमाडौं आएका एकथरी मान्छेहरु यस्तै कामका साथ रातदिन संघर्षमा छन् । कामबाट जीवन गुजाराका लागि काठमाडौं छिरेका मधेसीहरुका लागि काठमाडौं अवसर र संघर्ष पनि हो ।
काठमाडौंका साँघुरा गल्ली, छरपस्ट पोकाहरु, पुराना घरहरुले भरिएको अव्यवस्थित क्षेत्रमा डेरा लिएर समुहमा बस्नु पनि उनीहरुका लागि नियती बन्ने गरेको छ । 'थोरै कमाइमा धेरै जोहो गर्नुपर्ने बाध्यताले भाडामा धेरै मिलेर बस्नुपर्ने बाध्यता छ' ललितपुरको कुपोण्डल बस्ने बाराका राकेश साह भन्छन् ।
कालीमाटीबाट साइकलका टोकरीमा तरकारी भरेर सानेपा, कुपोण्डोल, वंगलामुखी, ग्वार्गो, कोटेश्वर हुँदै शंखमुलमा दिउँसो साढे ३ बजेतिर भेटिएका साह थकाइले लखतरान थिए । तर आफुसँग रहेको केही तरकारी सक्नुपर्ने भएकाले उनमा थकाइ विर्सिनुपर्ने बाध्यता थियो । तर कहिलेकाहीँ उनले मधेसी भएका कारण नै अन्य समुदायका मान्छेले गर्ने व्यवहार विर्सिन सकेका छैनन ।
'सानो बच्चाले पनि उस्तै व्यवहार गर्ने र घरको ढोकामै तरकारी पुर्याउँदा पनि महिलाहरुले हेपेर ‘तँ भैया....’ भन्दै चोरलाई जस्तो व्यवहार गर्दा साह्रै दुःख लाग्छ' साहले गुनासो गरे । पुरानो बानेश्वर गल्लीमा एकजना महिलाले पैसा नघटाएको भन्दै हात हालेको पनि उनले बिर्सिन सकेका छैनन् ।
खाली सिसी र पुरानो कागज बटुलेर कवाडी सामान ठकेदार सम्म पुर्याउने त्यसबाट आएको कमाइबाट भने सिराहामा नारद पटेल सन्तुष्ट छन् । भोजपुरी बढी नेपाली कम बोल्ने पटेलले सिराहामा चार जना र काठमाडौंमा पाँच जनाको परिवार पनि त्यसबाटै पालेका छन् ।

कतै भाषाका कारणले कतै कामका कारणले उनले पटक पटक हेपिनु परेको छ । पछिल्लो पटक उनले कवाडी सामान मात्रै बटुल्ने काम छाडेर नयाँ भाँडा दिने र पुरानो भाँडा बटुल्ने काम सुरु गरेका छन् ।
काठमाडौंको वुद्धनगरमा नाई व्यवसाय गरिरहेका महोत्तरीका विश्वास यादवले काठमाडौंमै कपाल काट्ने काम थालेको १९ बर्ष भयो । कपाल काट्न आउने वोली व्यवहार पनि राम्रो नगर्ने र उल्टै पैसा पनि दिन नखोज्ने युवाहरुका कारण नै उनले दुई ठाउँमा पसल सार्नु परेको थियो । 'हामी पनि यही देशका नागरिक हौं नि तर कालो छाला भएकै कारण किन हेप्छन होला सर ?' उनले उल्टै प्रश्न गरे ।

भाषा, वर्ण र काम कै कारण हेपिनु त छँदैछ सानो काम र मधेसी भएकै कारण कोठा नपाउनुको पीडा पनि उत्तिकै झेल्नु परेको छ । नेपाली मात्र नभएर भारतबाट पनि थुप्रै मानिस सानोतिनो ब्यवसायबाट पैसा कमाउन काठमाडौं छिरेका छन् । उस्तै रुपरङ, लवजका कारण पनि भारतीयको नाममा नेपालका तराईवासीले हेपाइ सहनु परेको छ ।
काठमाडौंमा रहेका मधेसीहरुको जीवन नियाल्दा मनमा नेपालीपनको गाढा छाप भएपनि अपनत्व नपाएको नमिठो व्यवहारले उनीहरु आँफैलाई पनि नेपाली भएकोमा शंका लाग्छ । मधेसका वुद्धिजीवि भन्छन् “बर्षौ राजधानी बसेकाहरुलाई पनि किन पराई ठान्छ आफ्नै राजधानीले, जवाफ पाउन सकिएको छैन । ”
ओएनएस न्युज
comments powered by Disqus
Post a Comment