Widgets



सामान्यतयाः कार्टुन बनाउनु एक–दुई दिनअघिदेखि नै म विषयको खोजीमा हुन्छु।

यो साताको सुरुदेखि नै म के विषयमा कार्टुन बनाऊँ भनेर सोचिरहेको थिएँ ।

अखबार, रेडियो, टिभी जताततै लोकमानकै विषय हट थियो । यही विषयले मलाई पनि तानेको थियो।

लोकमानकै विषयमा अर्कै कार्टुन बनाएर कान्तिपुरमा पठाइसकेको थिएँ तर प्राविधिक कारणले छापिएको थिएन ।

मंगलबार बेलुका बिबिसी नेपाली सेवामा पनि लोकमानकै विषय बजेको थियो ।  यही विषयमा कान्तिपुरका सम्पादक सुधीर शर्माको अन्तर्वार्ता पनि आएको थियो। बुधबार बिहान हतारहतार अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको सपथग्रहण गराइएपछि मेरो मनमा यो विषयले झनै जरा गाड्यो ।

पहिले कान्तिपुरमा पठाइसकेर नछापिएको लोकमानकै कार्टुनलाई परिमार्जन गर्नुपर्यो भन्ने ठानेँ । अघिल्लो कार्टुनमा मैले चार शीर्ष नेता प्रचण्ड, सुशील, झलनाथ र गच्छदारले बडेमानको ज्यान भएका लोकमानसिंह कार्कीलाई बोकेर अख्तियार प्रमुखको कुर्सीमा राखेको दृश्य बनाएको थिएँ ।

अचानक बुधबार बिहानै राष्ट्रपतिले लोकमानको सपथ गराएपछि पहिले बनाएको कार्टुनलाई यो रूपमा परिमार्जन गरेँ । लोकमानको सपथ गराउने क्रममा आफ्नो धोती फुस्केकोसम्म शीर्ष नेताहरूले पत्तो पाउन सकेनन् । लोकमानको विषयलाई जनचाहनाविपरीत शीर्ष नेताहरुले बोकिरहे ।

मैले कार्टुनमा यही विषय देखाउन खोजेको हुँ ।

शुक्रबार कान्तिपुरको प्रथम पृष्ठमा छापिएको यो कार्टुन मैले अझै राम्रो बनाउन चाहेको थिएँ । कार्टुनमा सपथग्रहणका क्रममा कुर्ता लगाएको जुन हातले सपथपत्र ल्याएर राष्ट्रपतिसामु तेस्र्याइदिएको छ, त्यो मसलवाला बनाउने ठानेको थिएँ । तर, त्यो हातलाई मसलवाला बनाउन भ्याइनँ । 

कार्टुनमा एउटा प्लेटमा शीर्ष नेताहरूले लोकमान र राष्ट्रपतिलाई बोकेर सपथ गराइरहेको दृश्य छ । मैले रातो प्लेटको ठाउँमा रातो कार्पेट बनाउन खोजेको थिएँ तर हतारमा सम्भव भएन । डेडलाइनको प्रेसरले सोचेजस्तो राम्रो पार्न सकिनँ ।

यो कार्टुनमा तपाईंले मेरो नाम र मितिको ठ्याक्कै मास्तिर एउटा काग देख्नुहुन्छ। अरू बेला कान्तिपुरको प्रथम पृष्ठमा छापिनेभन्दा लामो र ठूलो पनि छ यो कार्टुन।
खासमा यो कार्टुन मैले कान्तिपुर प्रथम पृष्ठका लागि बनाएकै होइन, कान्तिपुरको शनिबारीय परिशीष्टांक कोशेलीका लागि बनाएको थिएँ । कोशेलीको अन्तिम पृष्ठमा छापिने ‘बसिबियाँलो’ शीर्षक कार्टुनमा म सधैं एउटा काग राख्ने गर्छु ।

सान्दर्भिक विषय भएर होला, सम्पादकीय विभागले लोकमानको यो कार्टुन कागसहित प्रथम पृष्ठमै छापिदिएछ।

(कान्तिपुर दैनिकका कार्टुनिस्ट ७१ वर्षीय दुर्गा बराल ‘वात्स्यायन’ पोखरामा बसेर साताको दुइटा कार्टुन बनाउँछन्– एउटा प्रथम पृष्ठको लागि, एउटा कोशेलीलाई । वात्स्यायनसँग टेलिफोनमा काठमाडौंबाट मनोज दाहालले गरेको कुराकानी ।)


-सेतोपटी





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya