- Back to Home »
- दाउद इब्राहिमका मुख्य सहयोगी नेपालमा पक्राउ

काठमाडौं- नेपाललाई ट्रान्जिट बनाएर भारतसम्म नक्कली भारतीय रुपैयाँ पुर्याउन सक्रिय पाकिस्तानी नागरिक हाजी तलाद समूहका मुख्य सहयोगी पक्राउ परेका छन्। प्रहरीको विशेष ब्युरोले बागबजारमा बस्दै आएका मोहम्मद नरुल्लाहलाई अर्का एक पाकिस्तानी नागरिक र एक करोड नक्कली भारुसहित पक्रेको हो।
मंगलबार पक्राउ परेका नरुल्लाहको बयान र प्रहरी अनुसन्धानबाट उनी चार वर्षदेखि नेपाल प्रहरीको खोजीसूचीमा रहेका व्यक्ति भएको खुलेको स्रोतले बतायो। उनी कराचीका हाजी तलाद समूहका नेपाली सहयोगी भएको पनि अनुसन्धानस्रोतको दाबी छ। तलाद पाकिस्तानबाट विभिन्न मुलुक हुँदै भारतमा नक्कली भारु पठाउने मुख्य व्यक्तिको सूचीमा सूचिकृत छन्। भारतीय सुरक्षा एजेन्सीले उनलाई पाकिस्तानमा लुकेर बसेका मुम्बई अण्डरवर्ल्डका मुख्य नाइके दाउद इब्राहिमका सहयोगी भएको दावी गर्ने गरेको छ। नरुल्लाह उनै तलादका नेपाली मुख्य सहयोगी भएको स्रोत बताउँछ।
नेपालमा नक्कली भारुसहित पक्राउ पर्ने अधिकांश कारोबारी कराँची निवासी हाजीले आफूलाई नेपाल पठाएको बयान दिने गर्छन्। त्यही आधारमा नेपालले इन्टरपोलमार्फत् हाजीको खोजीमा सहयोग गर्न पाकिस्तानस्थित इन्टरपोलको एनसिबीलाई आग्रह गरे पनि चार वर्ष कट्दासमेत हाजीको वास्तविक पहिचान हुन सकेको छैन।
पक्राउ परेका नरुल्लाहबाट नेपालमा सक्रिय हाजीका अर्का सहयोगी रवि सिंहको समेत परिचय खुलेको छ। नरुल्लाहले आफूले पटक–पटक नक्कली भारु लिएर रातोपुलमा रहेको सिंहको घरमा गएको बयान दिएपछि उनको पहिचान भएको हो। यसअघि नक्कली भारु कारोबारमा सिंहको नाम सार्वजनिक भएको थिएन।
प्रहरीले मंगलबार बेलुका एक करोड नक्कली भारु लिएर कतार एयरवेजबाट नेपाल आएका पाकिस्तानी नागरिक महम्मद फारुक शेखलाई पक्रेको थियो। उनलाई लिन विमानस्थल गएका नरुल्लाह पनि विमानस्थलमै पक्राउ परेका हुन्।
अभियुक्तको बयान र अनुसन्धानपछि पक्राउ परेका दुवै अभियुक्त नेपाललाई ट्रान्जिट बनाएर भारतमा नक्कली भारु पठाउन सक्रिय पाकिस्तानको हाजी समूहका सदस्य भएको निष्कर्षमा प्रहरी पुगेको छ।
करिब ३० वर्षअघि सुनको कारोबार गर्ने क्रममा दुबईमा हाजीसँग चिनजान भएको र उनीसँग हालसम्म सम्पर्कमा रहेको नरुल्लाहले प्रहरी बयानमा खुलाएका छन्। स्रोतका अनुसार नरुल्लाह, जमिम साहका मुख्य सहयोगीसमेत हुन्। २०६४ माघ २४ गते लाजिम्पाटमा गोली हानेर सञ्चार उद्यमि जमिमको हत्या भएपछि उनी एकाएक हराएका थिए। लामो समय हराएका उनी पुनः काठमाडौं फर्केर व्यापारमा संलग्न भएका थिए।
नरुल्लाहले दिएको बयानअनुसार हाजीसँगको सम्पर्कपछि नै उनले नक्कली भारुको कारोबार सुरु गरेका थिए। उनले गत वर्ष अप्रिलमा पाकिस्तान गएर नक्कली भारुको डिल गरी नेपाल आएको जानकारी दिएका छन्। डिलअनुसार मंगलबार आएको खेप पहिलो भएको उनको दाबी छ। 'यो पहिलो खेप थियो, यो सफल भएको भए अरु पनि ल्याउने योजना थियो,' स्रोतले नरुल्लाहको बयान उद्धृत गर्योह।
नरुल्लाहका अनुसार गत माघमा हाजी तलादका सहयोगीले फोन गरेर नक्कली भारु लिएर एक पाकिस्तानी नेपालमा आउँदै गरेको जानकारी दिँदै उनलाई रवि सिंहको घरसम्म पुर्याभउन निर्देशन दिएका थिए।
निर्देशनअनुसार आफूले जमलमा बसेको एक पाकिस्तानीलाई रातोपुलमा रहेको रविको घरमा लगेको र ती पाकिस्तानीले रविलाई पाँच लाख नक्कली भारु दिएको उनले बताएका छन्। सो कामवापत आफूले १५ हजार रुपैयाँमात्र पाएको उनले स्वीकारेका छन्। 'यो पटकको काम सफल भएको भए ३ लाख पाउँथें,' उनको बयान उद्धृत गर्दै स्रोतले भन्यो।
नरुल्लाह बयानका आधारमा अनुसन्धानरत प्रहरी सिंहले समेत तलादका लागि काम गरेको निष्कर्षमा प्रहरी पुगेको छ। नरुल्लाहको बयानअनुसार रवि सिंहसँग लामो समयदेखि उनको सम्पर्क थियो। जमिम साहसँग काम गर्दाताका नै रविसँग चिनजान भएको उनले प्रहरीलाई जानकारी दिएका छन्।
'म च्यानल नेपालमा को–अर्डिनेटरका रुपमा काम गर्दा रविसँग चिनजान भएको हो,' उनको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'उनी त्यो बेला भारतमा हाउजिङको काम पनि गर्थे।'
उनले अर्का नेपाली सुनिलको नामसमेत लिएका छन्। तर, उनको पूर्ण परिचय उल्लेख गरेका छैनन्। पाँच महिनाअघि सुनिलसँग शिखर म्यानपावरमा भेट भएको र अनुप श्रेष्ठले चिनजान गराएको उनले बताएका छन्। आफू अप्रिलमा पाकिस्तान जाँदा रवि र सुनिलले टिकट व्यवस्थासँगै तीन सय अमेरिकी डलरसमेत दिएको उनले जानकारी दिएको स्रोतले बतायो।
नरुल्लाहको जानकारीका आधारमा प्रहरी ऊ नक्कली भारु कारोबारको विचौलिया भएको तथा रवि र सुनिल हाजी तलादको नेपाल एजेन्ट रहेको निष्कर्ष निकालेको छ।
पक्राउ परेका दुवै कारोबारीलाई विशेष ब्युरोले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाए पनि अनुसन्धान भने आफैंले गरिरहेको छ। बुधबार ब्युरोको टोली सिंहको खोजीमा खटिएको छ। नरुल्लाहले सिंहको घर देखेकाले प्रहरीले घरमा छापा मारेर अनुसन्धानलाई तीव्रता दिएको स्रोतले बतायो।
यसरी पक्राउ परे कारोबारी
नरुल्लाह नक्कली भारु कारोबारीको सम्पर्कमा रहेको सूचनाको आधारमा प्रहरीको विशेष ब्युरोले उनलाई लामो समयदेखि निगरानीमा राखेको थियो। मंगलबार उनी विमानस्थल पुगेपछि प्रहरीले पिछा गरेको थियो।
विमानस्थलमा नरुल्लाह र पाकिस्तानी नागरिक फारुक शेख महम्मदबीच भेट भएपछि प्रहरीले दुवैलाई नियन्त्रण गरी खानतलासी लिँदा एक करोड रुपैयाँ नक्कली भारु बरामद भएको थियो।
प्रहरीले फारुकको साथमा एकको ७० लाख र पाँच सयको ३० लाख नक्कली भारु फेला पारेको थियो। सुरक्षाकर्मीको आँखा छल्न फारुक पाकिस्तानबाट कतारको दोहा पुगी त्यहाँबाट कतार एयरवेजबाट नेपाल आएका थिए।
नरुल्लाह र फारुकबीच भेट भएलगत्तै ब्युरोको टोलीले दुवैलाई पक्रेको थियो।
फारुखका अनुसार उनी र नरुल्लाहबीच पाकिस्तानमै भेट भएको थियो। दुबई जाँदा चिनजान भएको जुबेरले उनलाई सुल्तानसँग परिचय गराएको र सुल्तानले उनलाई नक्कली भारु लिएर एकपटक नेपाल गएको २५ हजार दिने सर्तमा काममा लगाएको बयान दिएका छन्।
नेपाल आउँदा पाकिस्तानमा एक व्यक्तिले ब्याग दिएर विमान चढ्ने स्थानसम्म पुर्या उँदा सुरक्षाकर्मीले जाँच गर्नुको साटो उल्टो अभिवादन गरेको उनले प्रहरीलाई जानकारी दिएका छन्। 'उनीहरुको सल्लाहअनुसारनै म कतार एयरको उडानबाट दोहा हुँदै काठमाडौं आएको हुँ।'
नेपालमा बरामद भएको नक्कली भारुको परिमाणमध्ये मंगलबारको दोस्रो ठूलो हो। डेढ वर्षअघि फिलिपिनो डेनिस प्लोरे साँचेज एक करोड २२ लाख नक्कली भारुसहित कलंकीमा पक्राउ परेका थिए। प्रहरीले उनीसँगै दुई सहयोगी भारत बेतियाका नसिभ आलम र खोटाङ चिसापानीका डिकबहादुर नेपालीलाई पक्रेको थियो।
उनले २०६८ पुस ६ मा भारतको नयाँदिल्ली हुँदै १ करोड २२ लाख नक्कली भारु नेपाल भिœयाएका थिए। विमानस्थलबाट सोल्टी होटलमा गएर बसेका उनी कलंकीमा सहयोगीलाई सो रकम दिने क्रममा पक्राउ परेका थिए।
ब्युरोले मंगलबार पक्राउ परेका दुवैजनालाई रातभर नियन्त्रणमा राखेर अनुसन्धान सकी बुधबार कानुनी प्रक्रिया अघि बढाउन काठमाडौं परिसरमा बुझाएको थियो। महानगरिय प्रहरी परिसरका प्रवक्ता चक्रबहादुर सिंहले पक्राउ परेका दुवैजनालाई नक्कली रुपैयाँको कारोबारमा संलग्न रहेको अभियोगगमा अनुसन्धान सुरु गरिएको बताए।
कारोवारीको जालो
यसअघि पनि नेपालमा सक्रिय नक्कली भारु कारोवारका सहयोगीको पहिचान खुलेको थियो। तर, ती पक्राउ परेका छैनन्। प्रहरी फन्दामा पर्ने नेपालमा सक्रिय पहिलो तहका कारोबारी युनुस अन्सारी नै हुन्।
उनी नक्कली भारु कारोबारको अभियोग पुष्टि भएपछि केन्द्रीय कारागारमा कैद सजाय भोग्दै छन्।
अन्सारीपछि सक्रिय देखिएका इस्ताप अन्सारीसमेत पक्राउ परे। युनुस समुहबाट छुट्टिएका उनी पक्राउ परेपछि वीरगन्जका आफताब अन्सारीको नाम खुलेको थियो। एक करोड २२ लाख नक्कली भारुसहित पक्राउ परेका कारोबारीले आफतावको नाम लिएका थिए।
फिलिपिनोसँगै पक्राउ परेका भारतीय आलमले फिलिपिनोसँग भएको सामान वीरगन्ज ल्याउन अह्राएको बयान दिएको दुई वर्ष कट्दासमेत अफताव पक्राउ परेका छैनन्।
२०६९ साउन २२ मा न्युरोडको क्लासिक होटलबाट साढे २९ लाख नक्कली भारुसहित पक्राउ परेका पाकिस्तानी नागरिक मोहम्मद मिमुल्लाह र सोहिम मोहम्मद पाकिस्तानको हाजी समूहको सदस्य रहेको र उनको मुख्य सहयोगी उनै अफताव रहेको खुलेको थियो।
प्रहरीस्रोतका अनुसार नरुल्लाहले सिंहसँगै अर्का नेपाली सुनिलको नाम समेत खुलाएका छन्। सुनिलको पूर्ण पहिचान हुन सकेको छैन। यी दुवै हाजी तलाद समूहका लागि नेपालमा बसेर काम गर्न सक्रिय रहेको प्रहरीको निष्कर्ष छ।
नेपालमा नक्कली भारु लिएर आउने कारोबारीबाट पाकिस्तानी नागरिक जाबेदको नामसमेत खुले पनि उनको पूर्ण विवरण खुलाउन नेपाली सुरक्षा निकायले सकेको छैन। पक्राउ परेका कारोबारीमध्ये सबैभन्दा धेरै हाजी समूहकै देखिएका छन्।
comments powered by Disqus
Post a Comment