Widgets


अस्थायी काम, स्थायी जिन्दगी 
झट्ट व्यापार गर्ने भन्ने बित्तिकै हामी ठूलै लगानी सम्झन्छौ तर सहरको फुटपाथमा सानो ठाउँमा सानै लगानीमा व्यापार गरिरहेकाहरुले पनि सन्तुष्ट भएर आम्दानी गरिरहेका छन् । एक हजारदेखि तीन हजारसम्म लागानी रहेका यस्ता परिश्रमीको आम्दानी १५ हजार भन्दा कम छैन । 
 
अरु सामान्य नेपाली युवा जस्तै खाडीको घाममा आम्दानी गर्न जाने उमेर           भएपनि काठमाडौंमा प्लेटमा फलफूल बेचिरहेका माहिला तामाङदेखि उमेरले ६० बसन्त पार गरिसकेका सुनसरीका बाजे नै किन नहुन, सबै आफ्नो आम्दानीमा गर्व गर्छन् । शरीरले उमेर खाएको भएपनि जोशमा कमी नरहेका यी बाजे छाताको ओतमा दिनभर सडक किनारमा खुद्रा सामान बेच्छन् । सकुन्तला घिमिरेले मकै बेचेर गरेको आम्दानी पनि कम आकर्षक छैन । प्रस्तुत छ, यी तीनै जनाको एक दिनको खर्च र आम्दानीको कुरा ।    
                                                                                                                                                                                                                                                                                             
दैनिक आम्दानी पाँच सय
नाम माहिला तामाङ हो, मेरो घर मकवानपुरको हेटौंडा । काठमाडौं आएको छ वर्ष भयो । सुरुमा काठमाडौं आउँदा साथीभाइकै संगतमा आइयो । काठमाडौंमा सुखको काम पाइन्छ पैसा पनि टन्न कमाइन्छ भन्ने थियो । तर यहाँ त साह्रै गाह्रो रैछ । सुरुमा जागिर खोज्न तिर लागे । पढाईलेखाई थिएन राम्रो जागिर कहाँ पाउनु । साह्रै दुःख पाइयो, खल्तीमा पैसा हुँदैन्थ्यो यहाँ दुई चार दिन साथीहरु सँग बसियो पछि फेरि मकवानपुरनै फर्किए । 
पछि फेरि गाँउमा बस्न मन लागेन आए काठमाडौं । सुरुबाटै तरकारीको व्यापारमा लागे । यसरी फलफूलको व्यापार गर्न लागेको पनि लामो समय भैसक्यो । लागानी त त्यही हो चार हजार जति छ । दिनमा एक सय पचास प्लेटसम्म विक्री हुन्छ, एक प्लेट फलको २० रुपैयाँ पर्छ । पाँच रुपैयाँ नाफा हुन्छ एक प्लेटमा । त्यो भनेको कम्तिमा पाँच सय रुपैयाँ हुन्छ दिनमा । फलफूल बल्खुबाट ल्याउँछु, आफैले ल्याउनुपर्छ । मुख्य गरी भूइकटहर, मेवा र तरभुजा ल्याउनु पर्छ ।
यहाँ पुल्चोक ललितपुरमा बस्छु । उमेर त २७ वर्षको भइयो । विहे पनि भयो । दुई वर्षकी छोरी पनि छ, छोरी अर्को सालबाट स्कुल जान्छे । खर्च बढ्ने भो त्यही भएर अलि बढी कमाउने प्रयासमा छु ।
 
सोचे जस्तो त कहाँ हुन्थ्यो र ?
 
घर सुनसरीको झुम्काहा हो, काठमाडौं आएको सोह्र वर्ष भो । ६६ वर्षको भए, नाम किन भन्नु पर्यो ? सबैले बाजे भनेर चिन्छन् यहाँ । जागिर गर्ने पैसा कमाउने रहरले यहाँ आएको । त्यही भएर पहिले बालाजु औद्योगिक क्षेत्रमा काम गरे । औद्योगिक क्षेत्रको सरकारी अफिसमा ज्यामी काम छ वर्ष गरेपछि अस्थायी काम कहिलेसम्म गर्ने भनेर छोडे । "स्थायी त काँ गर्छन ?" हाम्रा देशका नेताहरु नै गतिला छैन्न । पछि आफ्नै केही गर्नुपर्छ भनी सडकको व्यापारमा लागेको, सुरुमा साथीभाई र आफ्न्तले नै यसो गर्नुपर्छ भनेर सिकाए ।
सडकमा यसरी पसल राखेको दश वर्ष हुन लागिसक्यो । धेरै ठाउँमा राखिसके हाडीगाउँ, कालोपुल र गौशालामा अलि लामो समय पसल गरे । अहिले यहाँ आएको पाँच वर्ष हुन लाग्यो ।  सोचे जस्तो त कहाँ हुन्थ्यो र ? तर पनि मलाई यसमै आनन्द आउँछ । यही पेशाले दुई छोरालाई पढाए । अहिले उनीहरु जागिर खान्छन् । हामी परिवारनै यही भित्रपट्टी (बबरमहल) मा बस्छौ ।
कमाईको के कुरा गरौ, छैन खायो सकियो यत्तिनै हो । दिनमा कहिले दुईसय कहिले पाँचसय पनि हुन्छ । यहि अलिअलि संगालेर बस्नुपर्छ । लगानी पनि धेरै छैन आम्दानी पनि धेरै छैन । चानचुन दुई हजारको लगानी होला । दिनदिनै सामान किनेर ल्याउछु । सबभन्दा बढी त मेरोमा चुरोट बिक्री हुन्छ । अनि चक्लेट र चुइगम । पहिले जस्तो नाफा छैन । पहिले चुरोटमा खिल्लीमै दुई रुपैयाँ जति आउथ्यो, अहिले एक रुपैयाँ पनि बल्ल बल्ल । यो ठुला कम्पनीहरु नाफा सब आफै मात्र खान खोज्छन्, हामी सडकमा बस्नेले धुलो मात्र खाने त हो ।
 
 
सरकारी कर्मचारी मेरा मुख्य ग्राहक
 
नाम सकुन्तला घिमिरे, घर मेलम्ची हो । मकै बेच्न थालेको २१ वर्ष भयो । दुई छोराछोरी छन् । छोरी तीन नातिनातिना पनि छन् । छोरो विदेश जाने सुरमा छ । अहिलेका केटाकेटी विदेश तिरै बल गर्छन् । मेरो उमेर यही काममा गयो । 
मकै महंगो भएको भएको बेला नाफा कम हुन्छ । अहिले हरियो मकैप्रति गोटा १० छ, मैले पोलेको मकैलाई १५ मा बेच्छु । धेरै नाफा कमाउँन २० रुपैयामा  बेच्चु पर्छ । मकै पोल्ने दाउरा किन्दा पनि खर्च हुन्छ । अहिले १० रुपैयाँ किलो छ । त्यही दाउरा पनि पाउँन गाह्रो छ । 
 
दिनमा सय ओटा भन्दा बढीनै बिक्री हुन्छ । आज एक सय २० ओटा ल्याएको सकियो अब जान लागेको । बिक्री हुने त यही चार बजे पछिनै हो तर आज  सकियो । यहाँ प्राय गरेर सरकारी कर्मचारीनै मेरा मुख्य ग्राहक हुन् । अरु पनि हुन्छन् । सबैले चिन्छन् यहाँ चिनेकै बढी हुन्छन् ।





Posted by :


comments powered by Disqus

Ad

Powered by Blogger.

- Copyright © HANDS & MIND Designed and Developed by Govinda Baniya